बेलायत राेजगारीकाे नयाँ गन्तव्यः १० हजार स्टाफ नर्स पठाउने तयारीमा सरकार
काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले राेजगारीका लागि १० हजार स्टाफ नर्स बेलायत पठाउने तयारी भइरहेको बताएका छन् ।
शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘यतिबेला हामी बेलायत सरकारसँग छलफलको क्रममा छौं । उताको पक्षसँग कुराकानी भइरहेको छ । केही समयमै स्टाफ नर्स पठाउने विषयमा टुंगो लाग्छ ।’
बेलायतमा नेपाली कामदारका लागि रोजगारीको गन्तव्य खुलेमा सबैभन्दा उत्कृष्ट वैदेशिक रोजगारीको गन्तव्य मुलुक बन्ने बताइएको छ ।
यस्तै, श्रम सचिव सूर्यप्रसाद गौतमले पनि बेलायती पक्षसँग छलफल भइरहेको र निकट भविष्यमै स्टाफ नर्स पठाउने सम्बन्धी टुंगो लाग्ने बताए । उनले छलफलमा बेलायती पक्ष सकरात्मक रहेको समेत बताए ।