
पोल्याण्डको सीमानामा भएका आप्रवासीहरुलाई न्यानो ठाउँमा सारियो
काठमाडौं – पोल्याण्ड प्रवेशका लागि एक साता भन्दा लामो समयदेखि पोल्याण्डको पश्चिमी सीमानामा जम्मा भएका आप्रवासीहरुलाई बेलारुसले न्यानो ठाउँमा सारेको छ ।जिरो डिग्री सेल्सियसमा कठ्यांग्रिएका आप्रवासीहरुमा मानवीय संकट उत्पन्न हुने खतरा बढेपछि बेलारुसले उनीहरुलाई सीमा क्षेत्रबाट नजिकै वातानुकुलित गोदाममा सारेको हो ।
बेलारुसका सरकारी संचार माध्यमहरुले सिमा क्षेत्रका अस्थायी शिविरहरु खाली गर्दै नजिकै न्यानो ठाउँमा आप्रवासीहरुलाई लगिएको समाचार दिएका छन् । युरोप प्रवेश गर्न चाहने खाडी देशका आप्रवासीहरु एक साता भन्दा लामो समयदेखि पोल्याण्डको पश्चिमी सिमास्थित दशगजा क्षेत्रमा बस्दै आएका थिए ।
युरोपेली देशहरुले बेलारुसमाथि पश्चिम एशियाका आप्रवासीहरुलाई आफ्नो देशमा खुलेआम प्रवेश दिएर पोल्याण्ड, लाट्भिया र लिथुआनियाबाट युरोप पठाउन खोजेको आरोप लगाउँदै आएका छन् । यसअघि बेलारुसका राष्ट्रपति लुकासेन्कोले सीमा क्षेत्रमा भेला भएका आप्रवासी मध्ये कम्तिमा २ हजार जनालाई शरण दिन जर्मन चान्सलर मर्केललाई आग्रह गरेका थिए ।
त्यसो भए सीमा क्षेत्रमा भेला भएका बाँकी ५ हजार जनालाई उनीहरुको देश फर्काउने जिम्मा आफूले लिने पनि लुकासेन्कोले बताएका थिए । तर जर्मन चान्सलर मर्केलले बेलारुसको उक्त प्रस्ताव अस्वीकार गरेपछि लुकासेन्को आप्रवासीहरुलाई सीमानाबाट गोदाममा सार्न तयार भएको बताइएको छ । उता, युरोपेली युनियनले पनि आप्रवासीहरु जहाँबाट आएका हुन उतै पठाउन भनेको छ । एजेन्सी



कागजपत्र |
