
राजनीतिमा महिला सहभागिता बढाउन माग
काठमाडाैं – राजनीतिक दलमा महिला सहभागिता बढाउन अन्तर्क्रिया आयोजना गरिएको छ। आज सञ्चारिका समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी राजनीतिक दलका नेताहरूले कानून अनुसार सहभागिता सुनिश्चित गराउन प्रतिबद्ध रहेको बताएका हुन्।
कार्यक्रममा पूर्व परराष्ट्र मन्त्री एवं नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले आगामी महाधिवेशनमा महिला सहभागितालाई विशेष जोड दिइएको बताए। ‘संविधान, निर्वाचन कानून र दलको विधानको व्यवस्थाप्रति नेकपा एमाले प्रतिबद्ध छ,’ उनले भने, ‘सोही अनुसार, देशभर प्रतिनिधि छनोट भएको र केन्द्रीय कमिटीमा प्रतिनिधित्व पनि हुन्छ।’ आगामी महाधिवेशनबाट एमालेको पदाधिकारीमा महिला सहभागिता बढ्ने समेत ज्ञवालीको दाबी थियो।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की नेता अमृता थापाले पार्टीको जुनसुकै तहमा पुग्न महिला नेताले थप सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको बताइन्। ‘संविधान र कानूनमा भए पनि सो अनुरूप सहभागिता छैन,’ थापाले भनिन्, ‘मन्त्रिपरिषद्मा समेत एक वा दुई महिला मात्रै राख्दै आएको हामीले देखिरहेकै छौं।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले राजनीतिमा महिला सहभागिता बढ्नुपर्नेमा जोड दिए। उनले भने, ‘वडा तहबाटै महिला सहभागिता बढ्न जरुरी छ।’
कार्यक्रमको आयोजक सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले सँघारमै रहेका ठूला दलका महाधिवेशनबाट महिला नेतृत्वको सङ्ख्या बढ्नुपर्ने धारणा राखिन्। ‘केन्द्रीय कमिटीमा मात्रै होइन, अब पदाधिकारीमा समेत महिलोका सङ्ख्या उल्लेख्य हुनुपर्छ,’ उनले भनिन्, ‘त्यसपछि मात्रै पार्टी अध्यक्षमा महिलाको उपस्थिति देख्न सकिन्छ।’ उनले हरेक क्षेत्रमा महिला सहभागिता बढ्नुपर्ने धारणा पनि राखिन्।



कागजपत्र |
