प्रहरी हस्तक्षेपका बाबजुद प्रधानन्यायाधीश जबराविरुद्ध आज पनि धर्ना

संयमित नभए बल प्रयोग गर्ने प्रहरीको चेतावनी


काठमाडौँ – सर्वाेच्च अदालतमा प्रहरीको हस्तक्षेपका बाबजुध प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आज (आइतबार) पनि वकिलहरुले प्रदर्शन गरेका छन् । आइतबार बिहान नेपाल बार एसोसिएसनको अगुवाईमा वकिलहरुले बारको केन्द्रीय कार्यालय अगाडि कालो पट्टि बाँधेर धर्ना दिइरहेका छन् ।

सर्वोच्च अदालत परिसरमा वकिलहरुले धर्ना दिइरहेका बेला नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बोलिरहेको समयमा प्रहरीले माइक र स्पिकर खोसेर शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेको हो ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले दुई सातादेखि धर्ना दिँदै आएको छ । बारले प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा आज पनि रोक लगाउने तयारी गरेको छ ।

सर्वोच्च भित्र प्रदर्शनमा सहभागी कानून व्यवसायीहरुलाई संयमित हुन प्रहरीले अपिल गरेको छ । धर्नामा बसेका कानुन व्यवसायीहरु त्यहाँबाट पनि उठेर अगाडि बढ्न खोजेपछि स्थिति तनावपूर्ण छ । सोही क्रममा प्रहरीले माइकिङ गर्दै संयमित हुन आग्रह गरेको हो । अन्यथा बल प्रयोग गर्ने प्रहरीले चेतावनी दिएको छ ।

कानुन व्यवसायीहरुले माइक प्रयोग गरेर कोणसभा गर्न खोज्दा प्रहरीले माइक प्रयोग नगर्न भनेको थियो । त्यसपछि केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । तर अहिले भने कानुन व्यवसायीहरुले माइक नै प्रयोग गरेर कोणसभा गरिरहेका छन् ।

प्रतिक्रिया