एमबाप्पेको कीर्तिमान, एउटै खेलमा चार गोल


एजेन्सी – युवा स्टार केलियन एमबाप्पेले फ्रान्सबाट पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिकसहित चार गोल गर्दै कीर्तिमान बनाएका छन्। फ्रान्सले काजाकिस्तानमाथि गोल वर्षा गर्दै सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा स्थान पक्का गर्न समेत सफल भएको छ।

फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा काजकस्तानमाथि ८–० को सानदार जित निकालेको खेलमा एमबाप्पेले चार गोल गर्दै आफ्नो कीर्तिमान राख्न सफल भएका छन्।

खेलको छैटौँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका एम्बाप्पेले १२ औँ र ३२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे। उनले दोस्रो हाफको अन्त्यतिर एक गोल गरेका हुन्।

कुनै पनि प्रतिस्पर्धात्मक खेलमा फ्रान्सका कुनै पनि खेलाडीले ह्याट्रिक गरेको सन् १९८५ पछि यो पहिलो थियो। त्यतिबेला डोमिनिक रोचेटेउले ह्याट्रिक गरेका थिए।

त्यस्तै खेलमा करिम बेन्जेमाले दुई तथा एडरियन राबियोट र एन्टोनी ग्रिजमानले एक–एक गोल गरे। जीतसँगै फ्रान्स समूह डीको शीर्ष स्थानमा रहने पक्का भएको छ। एक खेल बाँकी छँदा फिनल्याण्ड ११ अंकसहित दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया