पहिलोदिनः प्रधानसेनापतिको दिल्ली भ्रमण, तस्बिरमा हेर्नुहोस्


काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा चारदिने औपचारिक भ्रमणका क्रममा मंगलबार दिल्ली पुगेका छन्। भारतीय समकक्षी मनोजमुकुन्द नरवणेको निमन्त्रणामा शर्मा नेतृत्वको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डल दिल्ली पुगेको हो।

पुगेलगत्तै दिल्लीमा उनको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। त्यसपछि उनले राष्ट्रिय समर स्मारकमा वीर शहिदहरुको सम्मानमा पुष्पगुच्छा अर्पण गरेका नेपाली सेनाले जनाएको छ।

दिल्ली पुगेका उनले त्यसपछि भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेसँग भेटघाट र छलफल गरेका छन्। स्थल सेनाध्यक्ष नरवणेले साउथ ब्लकस्थित कार्यालयमा प्रधानसेनापति शर्मालाई स्वागत गरेका थिए।

भेटघाटमा दुई देशका सेनापतिबीच आपसी हित र पारस्परिक सम्बन्धमा द्विपक्षीय छलफल भएको नेपाली सेनाले जनाएको छ । भारतीय सेनाले शर्मालाई भारतको सुरक्षा परिप्रेक्ष्यबारे ब्रिफिङ गरेको छ, जसमा अहिलेको अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा परिवेशबारे भारतीय सैनिक दृष्टिकोण समेटिएको छ।

प्रधानसेनापति शर्माले मंगलबार नै रक्षा मन्त्रालयका सचिवसँग भेटवार्ता गरेका हुन्।

बुधबार बिहान अर्थात आज प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्नबाट सुशोभित गर्ने कार्यक्रम छ ।

बिहीबार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। बिहीबारै रक्षामन्त्री राजनाथ सिंहसँग बिहान १०ः३० बजे र विदेशमन्त्री जयशंकरसँग बिहान ११ बजे भेटवार्ता गर्ने कार्यसूची छ।

त्यस्तै, पौने १ बजे प्रधानसेनापति शर्माले भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने तय भएको छ। सेनापति भएपछि शर्माको भारत भ्रमण पहिलो हो।

प्रतिक्रिया