प्रचण्डसँग रुष्टले क्याम्प बदले, नेकपामा बादल अर्को ताकत


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद र समीकरण अदल बदलको क्रममा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल अर्को ताकतका रुपमा उदाएका छन्।

प्रायः मौन बस्ने बादल सचिवालयमा एक्ला भए पनि स्थायी समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट पूर्वमाओवादी नेताको साथमा विवादमा धक्का दिन सक्ने शक्तिका रुपमा उदय हुँदैछन्।

उनलाई प्रचण्ड–माधवकुमार नेपालको समीकरण गलत ठान्ने स्थायी समिति सदस्यको साथ छ। खासगरी प्रचण्डनिकट मानिने जनार्दन शर्मा, हरिबोल गजुरेल, मणि थापा बादलको ताकतका रुपमा उभिएका छन्। यस्तै उनीसँग पम्फा भुसालको साथ त छँदै छ।

‘एकताको जुन सहमति थियो त्यो भन्दा फरक भएर प्रचण्ड अघि बढेपछि उनीपछिको नेतृत्वका रुपमा रहेका बादललाई पूर्वमाओवादी केन्द्रको नेताका रुपमा उहाँहरूले अघि सार्नुभएको छ’, उच्च स्रोतले भन्यो,‘उहाँहरू अल्पमत र बहुमतको खेलमा हुनुहुन्न।’

गएको सचिवालय बैठकका क्रममा बादलले नयाँ कार्यदल बनाएर समस्या समाधानका हिसाबमा अगाडि बढ्न प्रस्ताव गरेका थिए। जुन अनुमोदन त भएन तर सचिवालयमा नरहेका प्रचण्डपक्ष मानिने स्थायी समितिले महाधिवेशनसम्मका लागि समाधानको नयाँ उपाय ठानेका छन्।

प्रचण्डले सचिवालयमा रहेका नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग समीकरणीय हिसाबले बहुमतको एजेन्डा लाद्न खोजेपछि सहमतिका पक्षधर तथा विभाजनको विरोधमा उभिएका बादलको कित्तामा आएका हुन्।

एउटा अन्तरवार्ताका क्रममा गजुरेलले भनेका छन्,‘एकताको बेला ६०–४० को भागवन्डा र निर्णय सहमतिका आधारमा गर्ने भनिएको थियो। पूर्वएमाले यसै पनि बहुमतमा रहेका कारणले सहमतिको सम्झौता भएको थियो, अहिले आफूसँग बहुमत जस्तो लाग्यो भन्दैमा त्यो सम्झौताविरुद्ध उभिन सुहाउँदैन।’

नेकपाको अहिलेको विवादलाई स्थायी समिति, केन्द्रीय समितिमा अल्पमत र बहुमतमा होइन, महाधिवेशनसम्म लानुपर्ने र त्यहि निर्णय गराउन सकिने मतमा यी नेताले प्रचण्डको विकल्पको ताकतमा बादलको लाइनलाई समातेको बताइएको छ।

बादल अहिले सरकारको राजीनामा माग गरी अस्थिरता स्थापना गर्ने र पार्टी विभाजनको विन्दुमा पुग्न नहुने अडान र मतमा छन्। यसबाहेक सचिवालयमा हुने गरेका समीकरणका कुनै पनि बैठकमा उनले चासो दिएका छैनन्।

प्रतिक्रिया