भरतपुर अस्पतालको ओपीडी टिकेट अनलाइनबाटै काट्न सकिने
चितवन – भरतपुर अस्पतालले अनलाइन टिकेट सुरु गरेको छ । अस्पतालले आइतबारदेखि अनलाइनबाट ओपिडी (बहिरङ्ग) टिकेट सुरु गरेको हो ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाइल एप्लिकेसन वा भरतपुर अस्पतालको वेबसाइटमा गएर टिकेट लिन सकिने व्यवस्था गराएको छ ।
अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले टिकेट लिन अत्यधिक भीड भएपछि अनलाइन टिकेट सुरु गरिएको बताए ।
उनले यो व्यवस्थासँगै टिकेट लिन लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य हुने बताए । उनले भने, ‘अहिले सबैको हातहातमा स्मार्ट मोबाइल छ । दुई(तीन सय जनाले अनलाइन टिकेट लिनुभयो भने पनि धेरै सहज हुन्छ ।’
अनलाइन टिकेट सुरु गरेसँग टिकेट काट्न लाइनमा बस्ने भीड कम हुने अपेक्षा गरिएको छ ।
रकमको भुक्तानी खल्ती डिजिटल वालेटबाट गर्न सकिनेछ भने टिकेटको शुल्क ३० रूपैयाँ रहेको छ ।