ओलीमाथि आरोप लगाउँदै प्रचण्डपुत्रीले भनिन्, ‘ओलीको चुनाव प्रचारमा जाँदा भाइ बित्यो’


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री रेनु दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको चुनाव प्रचारमा जाँदा भाइलाई गुमाउनुपरेको बताएकी छन्। २०७४ सालको चुनावमा प्रचारको क्रममा प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएको थियो।

एमाले अध्यक्ष ओलीमाथि खनिएकी दाहालले माओवादी केन्द्रकै सहयोगमा ओली दुई पटक प्रधानमन्त्री भएपनि उनले ठूलो कुरा गर्दै हिँडेको आरोप समेत लगाइन्।

‘इतिहासमा दुईपटक प्रधानमन्त्री माओवादीकै सहयोगमा भएकाले ठुला कुरा नगरेकै बेस होला,’ रेनुले ओलीप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा थप लेखेकी छन्।

विगतमा ओलीको लागि भोट माग्दै प्रचण्ड झापासम्म पुगेको स्मरण गर्दै रेनुले सोही बेला आफ्नो भाइ गुमाउनु परेको उल्लेख गरेकी हुन्।

‘ओलीलाई भोट माग्न ओलीको क्षेत्रमा ओलीसहित अध्यक्ष प्रचण्ड झापा जाँदा घरमा आमा मात्र, त्यहीपनि पनि पार्किन्सनको बिरामी’, दाहालले भनेकी छिन्, ‘भाइको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दुःखद घटना घट्यो। घरमा परिवारका सदस्य कोही पनि नभएको बेला सबै आ–आफ्नो चुनावी मैदानमा बिरामी आमा मात्र घरमा अकालमा उपचार पनि नपाई, के थाहा समयमै अस्पताल लैजान पाएको भए भाइको ज्यान जोगिन पनि सक्थ्यो।’

दाहालले यस्तो परिस्थितीबाट माओवादीसँगको सहकार्यले मात्र ओली प्रधानमन्त्री बनेको जिकिर गरेकी छिन्। ‘झन्डै दुई तिहाईको सरकार के ओली एक्लैले ल्याएको हो? हो भने हामीले साथ छोडिदिँदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त। धेरै नै फुर्ती लाउनेले अब बनाएर देखाए भो त।’

सोमबार चितवनमा आयोजित कार्यक्रममा ओलीले विगतमा आफूले प्रचण्डका लागि दुई दुई पटक भोट माग्नु परेको तर अब त्यस्तो गल्ती नगर्ने बताएका थिए। ओलीको भनाईलाई काउन्टर दिँदै रेनुले यस्तो लेखेकी हुन्।

प्रतिक्रिया