

‘जीवनका कठिनाइहरु’ नाम दिएकाे विश्वकै उत्कृष्ट तस्वीर पछाडिको मर्माहत कथा

काठमाडौं – विश्वभरका मिडिया र सामाजिक सञ्जालमा अत्याधिक शेयर गरिएको यो तस्बिर यतिबेला सबैतिरबाट चर्चा बटुलिरहेको छ । यो तस्बीरका साथै यसमा देखिएका पात्रकाे कथाले धेरैलाई मार्मिक पनि बनाइदिएको छ । सिएना अवार्डस् २०२१ मा यो तस्वीर वर्षकै उत्कृष्ट घोषित भएको छ ।
यो तस्बिर लिने फोटोग्राफर, मेहमेत अस्लनले यसलाई ‘जीवनका कठिनाइहरु’ नाम दिएका छन् । र वास्तवमै यसलाई हेर्ने बित्तिकै हामीले थाहा पाउन सक्छौँ कि जीवन वास्तवमै कठिन छ र कतिका लागि अत्यन्तै क्रुर पनि छ । तर यस्तो कठोरताका वावजुद बाबु छोरा दुवैको अनुहारमा मुस्कान देख्न सकिन्छ ।
वास्तवमा बाबु मुन्जीर, सिरियाको इड्लीब बजारमा हिँडिरहँदा माथिबाट बम खसि बिस्फोट हुँदा उनले आफ्नो दाहिने खुट्टा गुमाउनु परेको थियो । यो तस्बिर चाहिँ टर्कीको हेते प्रान्तमा खिचिएको हो ।
उनका छोरा मुस्तफा भने जन्मदै हात खुट्टाबिना जन्मिएका थिए । तर यो पनि युद्धकै परिणामले भएको हो । यसलाई ‘टेट्रा–एमिलिया सिन्ड्रोम’ भनिन्छ । युद्धका बेलामा उनकी आमा जेनेपले ‘नर्भ ग्यास हमला’ पश्चात् लिनु परेको औषधिका कारण उनमा त्यो स्थिति पैदा भएको थियो । यस्तोमा मुस्तफालाई भविष्यमा विशेष किसिमको विद्युतीय प्रोस्थेसेस् अर्थात कृत्रिम हातखुट्टाको आवश्यक पर्नेछ । तर दुर्भाग्यवश अहिले त्यो टर्कीमा उपलब्ध छैन । एजेन्सी

