प्रधानन्यायाधीश र १३ न्यायाधीशबीचको भेटवार्ता सकियो, मार्ग प्रशस्त गर्न आग्रह


काठमाडौं – सर्वोच्च अदालतका १३ जना न्यायाधीश र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा जबराबीचको भेटवार्ता सकिएको छ। प्रधानन्यायाधीशको भूमिकाको विषयलाई लिएर न्यायाधीशहरू आन्दोलित छन्।

छलफलमा न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। प्रधानन्यायाधीशसँगको भेटपछि १३ न्यायाधीश आन्तरिक छलफलमा जुटेका छन्। न्यायालयमा बेथिति बढेको सत्ता गठबन्धनमा प्रधानन्यायाधीश जबराले भाग खोजेको लगायतका विषयमा असन्तुष्टि जनाएका १३ न्यायाधीशले सोमबार प्रधानन्यायाधीश जबराले बोलाएको पूर्ण बैठक बहिष्कार गरेर छुट्टै बैठकमा बसेका थिए।

सोमबार प्रधानन्यायाधीश जबराले तोकेको इजलास पनि बहिष्कार गरेका न्यायाधीशहरूले जबरालाई भेटेर आफ्ना कुरा राख्ने र प्रधानन्यायाधीशले समाधान नगरे थप कडा कदम चाल्ने बताइएको छ। सोमबार प्रधानन्यायाधीशले १३ जना न्यायाधीशका लागि ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेको थिए। तर, ती कुनै पनि इजलास बस्न सकेको थिएन।

सत्ता गठबन्धनमा भाग खोजेको भन्दै चर्को आलोचना खेप्दै आएका प्रधानन्यायाधीश जबरामाथि राजीनामाको दबाब बढेको छ। पूर्व न्यायाधीश फोरम, चार पूर्व प्रधानन्यायाधीश, सर्वोच्च बार एसोसिएसन लगायतले जबराको राजीनामा नै अन्तिम विकल्प भएको बताएका छन्।

प्रधानन्यायाधीश राणाले महाभियोगको सामना गर्न तयार रहेकोले राजीनामा नदिने बताइसकेका छन्।

प्रतिक्रिया