प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बैठक सर्वोच्चका १४ न्यायाधीशले बहिस्कार गर्ने


काठमाडौँ – सर्वोच्च अदालतको पुर्ण बैठक (फुल कोर्ट)आज बस्दै छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज दिउँसो साढे १ बजे फुल कोर्ट बोलाएका छन्। आइतबार अपरान्ह बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले सोमबार बोलाइने फुलकोर्ट बैठकमा सहभागी नहुने सहमति गरेको हो ।

न्यायालय र नेतृत्वमाथि बारम्बार प्रश्न उठेपछि त्यसबारे छलफलका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले फुल कोर्ट बोलाएका हुन्। नेपाल बार एशोसिएशनसँग आइतबार भएको छलफलपछि जबराले दिउँसो साढे १ बजेका लागि फुल कोर्ट बोलाएका हुन्। बैठकमा बार एशोसिएशनका प्रतिनिधिलाई पनि सहभागी गराइने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

जबराले बोलाएको फुल कोर्ट भने १४ जना न्यायाधीश बहिष्कार गर्ने भएका छन्। हिजो सर्वोच्चका १४ जना न्यायाधीशले छुट्टै छलफल गरी प्रधानन्यायाधीशले बोलाएको फुल कोट बैठक बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

पूर्ण बैठकमा न्याय क्षेत्रमा देखिएको विसंगति, न्यायपालिकाको विकृति, विसंगति अनियमितता, भ्रष्टाचार एवं विचौलियाको चलखेलबारे न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन लगायत विषयमा छलफल गर्ने तयारी छ। तर १४ न्यायाधीश भने बिहानैदेखि छुट्टै छलफलमा छन् ।

पाँच दलीय गठबन्धन सरकारसँग भाग खोजेकोसहितका अनेक आरोपका कारण प्रधानन्यायाधीश जबरा विवादमा परेका छन् ।

जबराले आफूले गठबन्धन सरकारसँग मन्त्री भाग नमागेको र गजेन्द्र हमाललाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई नभनेको पनि प्रष्टिकरण दिँदै आएका छन् ।

प्रतिक्रिया