पाँचखाल नगरप्रमुख खरेल र इजरायली राजदुत गोडरबीच भेटवार्ता


काभ्रे – काभ्रेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेल र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ । नेपालकै उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत भएको पाँचखाल नगरपालिकाले कृषिमा आधुनिकीकरण र नयाँ प्रविधिमा जोड दिएको छ । यसकै तयारी स्वरुप कृषीका लागि विश्वभर प्रसिद्धि कमाएको इजरायली प्रविधिको प्रयोगका लागि नगरप्रमुखको पहलमा राजदूतसँग भेटवार्ता भएको जनाइएको छ ।

राजदूत गोडरले मेयर खरेललाई पाँचखाल स्थित नगरपालिकाकै कार्यालयमा पुगेर भेट भेट गरेका हुन्। भेटमा कृषि क्षेत्रमा दुई पक्षीय साझेदारीका बिषयमा छलफल भएको मेयर खरेलले जानकारी दिए । ‘इजरायल र पाँचखाल नगरबीच कृषि क्षेत्रलाई आधुनिकिकरण र नयाँ प्रबिधी भित्र्याउने बिषयमा छलफल भयो । केहि समयमानै यसले मुर्त रुप लिनेछ । चाँडैनै नगर र इजरायली राजदुतावास बिचमा समझदारी हुदैँछ’ मेयर खरेलले भने ।

कुराकानीको क्रममा कृषकलाई कसरी समृद्ध बनाउने भन्ने विषयमा छलफल समेत भएको थियो । साथै इजरायलले पाँचखालका किसानहरुलाई आधुनिक खेति प्रणाली तथा परम्परागत खेतिभन्दा नगदेबालीका विषयमा तालिम समेत दिईने विषयमा कुराकानी भएको मेयर खरेलले जानकारी दिए ।

पाँचखाल नगरपालिकाले बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै आएको छ । पाँचखाल नगर कृषि शहर मुल मन्त्र बनाएर नगरपालिकाले काम गर्दै आईरहेको छ ।

पाँचखाल नगरपालिका ताजा तरकारी र अन्न उत्पादनका हिसाबले काभ्रे जिल्लाकै सबैभन्दा राम्रो क्षेत्र मानिन्छ । तर सिंचाई अभावमा सोचेजति किसानले आम्दानी लिन भने सकेका छैनन्।

कृषिमा इजरायली प्रविधि, ज्ञान र सीप विश्वमै उत्कृष्ट मानिन्छ । त्यही प्रविधिलाई पाँचखाल जस्तो उर्वर भूमिमा प्रयोग गर्न सके अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय तरकारी र फलफूल उत्पादनमा सकिने मेयर खरेलको विश्वास छ।

प्रतिक्रिया