

तातोपानी नाका हुँदै नेपालमा रासायनिक मल भित्रिन सुरु

काठमाडौं – नेपाल-चीनबिचको उत्तरी तातोपानी नाकाबाट रासायनिक मल नेपाल भित्रिन सुरु भएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले चीनसँग माग गरेको रासायनिक मल तातोपानी नाका हुँदै नेपाल भित्रिन सुरु भएको हो ।
तातोपानीबाट काठमाडौँस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा पठाउने तयारी भइरहेको त्यहाँस्थित भन्सार कार्यालयले जानकारी दिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ढुवानीको अनुमति पाएको सिल्क ग्रुपले चीनबाट उक्त मल तातोपानी नाका हुँदै नेपाल ल्याएको हो ।
पाँच हजार १०० मेट्रिक टन मल आयातको अनुमति पाएको सिल्क ग्रुपले तातोपानी नाका हुँदै हालसम्म ३४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले जानकारी दिएका छन् ।
उनले भने, ‘अब सम्झौता भएको बाँकी मल नेपाल भित्रिने क्रममा छ ।’ मल आयात ढुवानी कम्पनी सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले एक महिनाभित्र आफूहरूले जिम्मा पाएको पाँच हजार १०० मेट्रिक टन युरिया मल सबै नेपाल भित्रिसक्ने बताएका छन् ।
नेपाल सरकारले यसअघि पनि उत्तरी नाका तातोपानी हुँदै साल्ट ट्रेडिङ कम्पनीमार्फत चीनबाट चार हजार मेट्रिक टन युरिया मल भित्र्याएको थियो ।

