

बाढीले डुबेको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने, ५ बजेपछि उडान भर्न नपाइने

विराटनगर — लगातारको बाढीपछि बन्द रहेको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । बाढीले डुबेका विमानस्थलका उपकरणहरुको परीक्षणपश्चात गरिएपछि शनिबारबाट विमानस्थल सञ्चालनमा आउने भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा मात्र उडान गर्ने गरी अनुमति दिएको हो । उडान तालिका बिहानबाट साँझ ५ बजेसम्म मात्र हुने भएको छ । उपकरणहरुको जाँच बाँकी रहेका कारण रात्रिकालीन उडान भने तत्काल नहुने भएको छ ।
प्राधिकरण स्रोतका अनुसार तत्कालका लागि आईएफआर (उपकरणमा आधारित) उडान नगरी भीएफआर उडान मात्र हुने भएको हो । उपकरणहरु चुस्त रहेको निश्चित भएपछि भने आईएफआर उडान समेत हुनेछ । आईएफआर उडान भएको अवस्थामा रात्रीकालीन उडान समेत सम्भव हुन्छ ।
यसैबीच कम्पनीहरुले विराटनगर विमानस्थलमा फसेका आफ्ना जहाज भने काठमाडौं फर्काएर अन्य गन्तव्यमा उडाइरहेका छन् । कम्पनीहरुले विराटनगरको विकल्पमा भद्रपुर र राजविराजमा अतिरिक्त उडान गरेका छन् ।

