साफ च्याम्पियनसिप: उपाधिका लागि नेपाल र भारत भिड्दै


काठमाडौं – माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीच भिडन्त शनिबार हुँदैछ ।मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।

आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले चिरपरिचित दुई प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो । नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । नेपालले यस अघि सेमिफाइनलसम्मको यात्रा तय गर्दै आइरहेको थियो । त्यसैले नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहन्छ । तर, भारतविरुद्ध सहज नहुने नेपाली टोलीलाई जानकारी छ ।

साफमा भारत सबैभन्दा सफल टिम हो । भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ । भारत आठौं पटक उपाधि उचाल्ने योजनामा हुनेछ । तर, नेपाली टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतविरुद्ध गोर्खाली शैलीमा खेलेर जित निकाल्ने बताउँछन् ।

साफ अन्तर्गत नै लिग चरणमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो । जहाँ भारतले नेपाललाई १-० ले हराएको थियो ।

 

प्रतिक्रिया