आमाको मायाः फागुनदेखि हराएका १४ वर्षीय छोरा भेटिदाँ


काठमाडौं – आफ्नै घरबाट हराएका कपिलवस्तुका १४ वर्षीय बालकलाई प्रहरीले फेला पारी परिवारको जिम्मा लगाएको छ। ती बालक गत २९ फागुनदेखि हराएका थिए।

कपिलवस्तु नगरपालिका–३ का रामविक्रम तेलीका १४ वर्षीय छोरा काशीराम तेली २९ फागुनदेखि हराएकोमा भारतको मुम्बईबाट उद्दार गरी परिवारको जिम्मा लगाएको हो।

प्रहरीले बालकलाई कपिलवस्तु–३ का वडा अध्यक्ष प्रकाश गैरे र साथी संस्थाका संयोजक विमला घिमिरेको रोहवरमा बुवा रामविक्रम तेली र आमा जोखनी तेलीलाई जिम्मा लगाई पठाइएको जनाएको छ।

हराएका आफ्नो छोरा भेटिएसँगै आमा जोखनी तेलीले छोरालाई अंगालो हालेर भावुक हुँदै खुसीका आँसु झारेकी थिइन्।

बुबा रामविक्रमले छोरा हराएको भन्दै हुलियासहितको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा निवेदन दिएपछि प्रहरीले बालकको खोजी सुरू गरेको थियो।

खोजी गर्दै जाँदा ती बालक भारतको मुम्बई डोगरीस्थित बालगृहमा रहेको पत्ता लागेपछि सुंयक्त नेपाली महासंघ मुम्बई संस्थाको सहयोगमा उनलाई नेपाल ल्याइएको कपिलवस्तु प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए।

उक्त संस्थाका महासचिव पुरन कुँवरले बालकलाई मुम्बईदेखि ल्याई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाएका थिए।

प्रतिक्रिया