आज विश्व हुलाक दिवस मनाइँदै : प्रविधिको विकाससँगै हुलाक सेवा सङ्कटमा


गलेश्वर – आज १४७ औं विश्व हुलाक दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । ‘पुनरुत्थानका लागि नवप्रवर्तन’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो।

हुलाकलाई सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा लिने गरिन्छ। विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको थियो। सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो।

सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व पछिल्लो समय सङ्कटमा परेको छ । नेपालमा विसं १९३५ देखि सुरु भएको हुलाक सेवाले जनताको घरदैलोमा सेवा पुर्‍याउँदै आए पनि सूचना प्रविधिमा भएको विकास र ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँचका कारण हुलाकको अस्तित्व जोखिममा परेको हो ।

एक दशकअघिसम्म आमनागरिकको भरोसा बनेको हुलाक सेवा अहिले सरकारी पत्र र केही व्यक्तिगत काममा सीमित छ । हुलाकको प्रयोजन अहिले सरकारी कार्यालयको चिठीपत्र बोक्ने र पार्सलका केही सामग्री पुर्‍याउने काममा मात्र साँघुरिएको हुलाकका कर्मचारी बताउँछन् ।

जिल्ला हुलाक कार्यालय म्याग्दीमा २० वर्षभन्दा बढी सेवा गरी हाल सेवानिवृत्त भएका झकबहादुर थापा एक दशकअघिसम्म चिठीपत्रको चापका कारण काम गर्न भ्याइनभ्याइ हुने हुलाक अहिले सरकारी कार्यालय तथा संस्थाका पत्र र विदेशबाट आउने व्यक्तिगत सामानको काम गरेर आफ्नो अस्तित्व बचाइरहेको बताउछन् । सूचना प्रविधिले इन्टरनेटको विकास गरेपछि विश्वलाई नै एउटा गाउँमा परिणत गरिदिएको र यसले दूरसञ्चारमा समेत चुनौती थपिएको उनको भनाइ छ ।

सूचना प्रविधिको पहुँचका कारणले सेकेण्ड-सेकेण्डमा सूचना पाउने भएपछि चिठीपत्र र हुलाक सेवा दुवैको औचित्य घटेको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख साधनाकुमारी श्रेष्ठ बताउछिन् । उनका अनुसार हुलाक सेवा विश्वमै भरपर्दो सञ्चार सेवा भएका कारण संयुक्त राष्ट्रसङ्घको अङ्गकै रुपमा विश्व हुलाक सङ्गठन स्थापित छ तर, पछिल्लो समय हुलाक सेवा नेपालमा मात्र नभई विश्वमै सङ्कटोन्मुख अवस्थामा पुगेको छ । हुलाकलाई आधुनिकीकरण गर्न सरकारका तर्फबाट पनि कुनै पहलकदमी नहुँदा हुलाक सेवाको औचित्य स्थापित हुन नसकेको जानकारले बताएका छन् ।

हुलाक बचत बैंकलाई सरकारले आर्थिक वर्ष २०७५/०७६ बाट खारेज गरेसँगै हुलाकको अस्तित्व झन सङ्कटमा परेको कतिपयको बुझाइ छ । सरकारले हुलाक बचत बैंकको खारेजी गरेसँगै यस बैंकमा जम्मा भएको रकम खातासहित राष्ट्रिय वाणिज्य बैंकमा सारेको थियो ।

प्रतिक्रिया