

कांग्रेसका उदाउँदा ‘ध्रुवतारा’ शाहीले कालिकोटमा सर्वसम्मत नेतृत्व स्थापित गराउन भूमिका खेले

काठमाडौं– नेपाली कांग्रेसको जिल्ला तहसम्मका अधिवेशन सम्पन्न हुन थालेका छन्। कतिपय ठाउँमा चुनाव भए पनि कालिकोट जिल्लामा भने वडादेखि जिल्लासम्म सर्वसम्मत नेतृत्व चयन भएका छन्।
संस्थापन र इतर समूह भए पनि सहमतिका आधारमा वडादेखि जिल्लासम्म नेतृत्व चयन सम्भव रहेको उदाहरण युवा नेता भुपेन्द्रजङ्ग शाहीको भूमिकाले प्रष्ट बनाएको छ। सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नै समस्या रहेका बेला युवा नेता शाहीको भूमिकाले कालिकोटका ८२ वडा, ९ पालिका, दुई प्रदेश र जिल्लाका पदाधिकारीसम्म सर्वसम्मत चयन भएका हुन्।
‘जिम्मेवारी लिने र योगदान गर्ने विषयमा सहमत बन्नुले कालिकोट जिल्लाका कांग्रेस नेता कार्यकर्ताको समझदारी पनि राम्रो रहेको छ भन्ने बुझ्नपर्छ, देशभरी यसरी जिल्लाका सबै तहमा सहमतिमा नेतृत्व स्थापित भए राम्रो हुने थियो’, युवा नेता शाही भन्छन्,‘यसमा सबैको योगदान छ।’
अधिवेशन सुरु हुनासाथ शाही गृहजिल्लामा अभ्यस्त थिए। नेपाल तरुण दलका नेता समेत रहेका उनी पछिल्लो पुस्ताका अब्बल र नेपाली कांग्रेसका उदाउँदा ध्रुवतारा मानिन्छन्।
कालिकोट जिल्लामा अम्मबहादुर शाही कांग्रेस सभापतिमा सर्वसम्मत चयन भएका छन्। उनीबाहेक सबै पदाधिकारी पनि सर्वसम्मत चयन गराउन सफल भएको शाही बताउँछन्।
‘हामी युवाको काम, युवा नेता भन्नेहरूको काम भनेको सहमति, सहकार्य र एकताको भावनामा पार्टीका समितिहरू निर्माण गर्दै केन्द्रसम्म त्यो अवस्था ल्याउनु पनि हो’, शाही भन्छन्,‘यसका लागि पार्टीका युवा नेता नै अग्रसर भएर मिलनविन्दुको केन्द्र बन्नुपर्छ। आज कालिकोट त्यसका लागि त उदाहरणीय नै बनेको छ।’
कांग्रेसका कतिपय जिल्लामा अधिवेशन जारी छन् भने कतिपयमा बाँकी छन्। समूह अलग–अलग भए पनि पार्टी एउटै, विचार एउटै भएपछि सहमतिमा नै जोड दिनुपर्ने शाहीको सन्देश छ।

