प्रचण्डलाई भेटेपछि रन्जित तामाङले सुरु गरेको विद्यार्थी अगुवा नेता भेलाको अर्थ


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षबीचको विवाद र त्यसले निम्त्याउने संकटको पराकम्पन भगिनी संगठनमा पनि देखा पर्न थालेको छ।

शुक्रबार राजधानीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का अगुवा कार्यकर्ताको भोला भयो। जसको संयोजन गरेका थिए, सह–संयोजक रन्जित तामाङले।

यो भेलामा प्रचण्ड र माधव नेपाल समूहका अगुवा नेता कार्यकर्ताको उल्लेख्य सहभागीता थियो। कोभिड–१९ पनि नभनीकन भेलको सन्देश थियो– पार्टी विभाजनको मोडमा पुग्नु हुन्न, त्यसको मुल्य कम्युनिस्ट आन्दोलनले चुकाउँछ।

काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा भएको भेला अनेरास्ववियुको बागमती प्रदेशअन्तर्गत उपत्यका विशेष कमिटीको आयोजना भनिएको छ। तर अनेरास्ववियुका सहसंयोजक तामाङको सक्रियतामा भएको भेलाको अर्थ थियो, संयोजक ऐन महरले गुटगत भेला गरेकोलाई चिर्नु। तामाङ भन्छन्,‘यो भेलाको अर्थ महरजीले गरेको जस्तो गुटको सवाल होइन, यो समग्र नेकपाको जीवनको सवालसँग सरोकार र मतलब राख्ने भेला हो।’

‘पार्टीमा अन्तरसंघर्ष चलेको बेलामा एकताको विरूद्धमा गतिविधि गरेको होइन, गुटगत भेलाले शक्ति देखाउने दुश्यप्रयास गरेपछि त्यसको बौद्धिक उदाहरण मात्र दिएका हौं’, तामाङ भन्छन्।

स्वस्थ राजनीतिक बहसको पक्षमा, सत्ताको तावेदारी र चाकडीको विपक्षमा नै यो भेलाको मर्म लुकेको तामाङको ठहर छ। उनले पार्टीमा विधि र पद्धति मान्नुपर्छ भनेर दबाव दिन भेला गरिएको बताए।

पद्धति र नियमविरुद्ध भ्रम फैलाउने सकस चिर्नका लागि यस्ता भेला आवश्यक रहेको उनको ठहर छ। विद्यार्थी आन्दोलनलाई सुक्ष्म हिसाबले पहिचान गरेका तामाङ जोड्छन्,‘महरहरुले जहाँ–जहाँ भ्रम फेलाउन खोज्नुभएको छ। हामी त्यहाँ–त्यहाँ भ्रम चिर्न पुग्छौं। यो भेला पार्टी फुटाउन उद्दत हुने प्रवृत्तिविरूद्ध हो। यो भेला अनेरास्ववियुलाई ‘मण्डले’ विद्यार्थी संगठन हुन नदिनका लागि गरिएको हो।’

भेलाको सम्बोधनका लागि नेकपा स्थायी कमिटी सदस्यहरू अष्टलक्ष्मी शाक्य र पम्फा भुसाल पुगेका थिए।

भेलामा पूर्वका विद्यार्थी नेता एवम् समाजसेवामा सक्रिय वासिम आलमसहितका अनेक अगुवा विद्यार्थी नेता कार्यकर्ताको सहभागीता थियो। आलम भन्छन्,‘हामी एकता चहान्छौं, अहंकार सहन्नौं। यो पार्टी हाम्रो भविष्यको कथा मात्र होइन, देशको भविष्यको लेखाजोखा हो, कसैको अहंकारको बन्दी होइन।’

प्रतिक्रिया