

नयाँ दिल्लीमा सीमा सुरक्षा बैठक सुरु

काठमाडौं – नेपाल-भारत सीमा सुरक्षा बैठक भारतको राजधानी नयाँ दिल्लीमा हिजो (मङ्गलबार) बाट सुरु भएको छ ।
नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बैठकमा नेतृत्व गरिरहेका छन् भने भारत सरकारका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्रले गरिरहेका छन् ।
नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठकमा भाग लिन महानिरीक्षक खनाल गत सोमबार नयाँ दिल्ली प्रस्थान गरेका थिए ।
सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालका अनुसार बैठक (असोज १९-२१) तीन दिनसम्म सञ्चालन हुनेछ । बैठकमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा प्रमुख तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र नेपाल प्रहरीका एक-एक जना प्रतिनिधि सहभागी छन् ।
भारत सरकार र नेपाल सरकारका तर्फबाट सातरसात जनाको टोली नेपाल-भारत सीमा सुरक्षासम्बन्धी छलफलमा सहभागी छन् । केही वर्षअघि सो बैठक पोखरामा आयोजना गरिएको थियो ।
अन्तरदेशीय सीमा अपराध नियन्त्रण, दशगजामा संयुक्त सुरक्षा गस्ती, दुवै देशका नागरिकको आवागमनमा सहजीकरण र सूचना आदानप्रदान छलफलको मुख्य विषय भएको जनाइएको छ । प्रत्येक वर्ष आयोजना हुने सीमा सुरक्षा बैठक विविध कारणले नियमित हुन सकेको थिएन । पहिलो बैठक २०६९ मा भारतमा बसेको थियो ।
दोस्रो बैठक २०७२ मा नेपालमा, तेस्रो बैठक २०७३ सालमा भारतमा र चौथो बैठक नेपालमा बसेको थियो । कोभिड-१९ का कारण अवरुद्ध पाँचौँ बैठक नयाँ दिल्लीमा बसेको हो ।

