मन्त्रिपरिषद् बैठक: पन्त सचिवमा बढुवा, वैदेशिक रोजगार न्यायाधिकरणमा भट्टराई
काठमाडौं – सरकारले सहसचिव रविलाल पन्तलाई सचिवमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पन्तलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
यस्तै सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा सहन्यायाधिवक्ता डा। गोपीचन्द भट्टराइलाई तोक्ने निर्णय गरेको छ। यसैगरी ऋण असुली न्यायाधिकरणको रिक्त कानुन सदस्य पदमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्त गरिएको छ।
साथै सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ र विद्युतीय राहदानी बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरु सेक्युरिटी फिचर्स स्वीकृत गर्ने निर्णय गरेको छ।
यस्तै यही असोज २४ गतेदेखि असोज २८ गतेसम्म हुने असंलग्न आन्दोलनमा सहभागी देशहरुको कमोरेटिभ हाइलेभल मिटिङमा परराष्ट्रमन्त्रीको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने पनि सरकारको निर्णय छ।