
सामाजिक कार्यमा सक्रिय हुँदै गोरखा प्रहरी!
काठमाडौं – ६६ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय, गोरखा प्रहरीले विभिन्न सामाजिक काम सम्पन्न गरेको छ। प्रहरीले जिल्लाको विभिन्न स्थानमा सरसफाई गर्नुका साथै रक्तदान गरेको छ।
सोमबार जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) शेखर खनालको नेतृत्वमा परिचालित प्रहरीले सदरमुकाममा रहेको रानीपोखरी र वरपर रहेको मन्दिर परिसरको सरसफाई गर्नुका साथै रक्तदान गरेर प्रहरी दिवस मनाएको थियो।
एसपी खनालको नेतृत्वमा ४७ जना प्रहरी कर्मचारीहरुको सहभागितामा गोरखा सदरमुकामको पदेलीमा रहेको रानीपोखरी सरसफाइ गरिएको छ। त्यस्तै प्रहरीले रानीपोखरी, पुष्कर तिर्थको पनि सरसफाइ गरेको छ।
साथै, जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखासँगको सहकार्यमा कार्यालय परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो।

रक्तदान कार्यक्रममा प्रहरी कर्मचारीहरु ५५ जना, अन्य सुरक्षा निकायका ४ जना र २ सर्वसाधारण गरी जम्मा ६१ जनाले रक्तदान गरेको प्रहरी कार्यालयले जनाएको छ।
सरसफाइ तथा रक्तदान कार्यक्रमले प्रहरीहरुमाथि समाजको हेर्ने दृष्टिकोण सकारात्मक हुने साथै प्रहरीहरुको मनोबल उच्च बनाउने भएको कारणले यस्तो कार्यक्रम आयोजना गरेको एसपी खनालले बताए।
त्यस्तै नजिकिँदै गरेको महाच चाड दसैंमा घट्न सक्ने चोरी डकैती जस्ता अपराधिक घटनाहरु न्युनिकरण गर्नका लागि समेत विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।




कागजपत्र |
