ललिता निवास जग्गा प्रकरणः नेपाल र भट्टराईविरुद्धको मुद्दा सुनुवाइ हुँदै


काठमाडौं – बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकरणमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेका रिटमाथि आज सुनुवाइ हुँदैछ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा लगाउनु पर्ने भन्दै अख्तियारविरुद्ध न्यौपानेले दायर गरेको रिटमाथिको सुनुवाइ प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा पहिलो नम्बरमै तोकिएको छ।

अख्तियारले तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध भने मुद्दा नचलाउने भनि गरेको निर्णय बदर गर्दै पुरक मुद्दा चलाउन माग गरिएको छ।

पूर्वप्रधानमन्त्रीद्वय विरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाउन आदेश माग्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले २९ माघ २०७६ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने निर्णय तत्कालीन प्रधानमन्त्रीहरुकै नेतृत्वमा भएको दाबी रिटमा गरिएको छ। यसअघि उक्त मुद्दामा प्रमाण बुझ्न, लिखित जवाफ झिकाउने र निर्णय झिकाउने आदेश भएको छ।

 

प्रतिक्रिया