प्रारम्भिक सूचनामाथि प्रहरीको खेलाँचीः कमजोर अनुसन्धानले दुईजना हिरासतमा!

दाङ प्रहरीले बरामद गरेको कस्तुरीको बिनामा बाहिर बाख्राको छाला र भित्र अगरबत्तिको धुप


पत्रकार सम्मेलन गर्दै दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्ले।

दाङ — प्रहरीले दाङमा पक्राउ गरेको भनिएको बहुमुल्य प्रतिबन्धित कस्तुरीको बिनाको बाहिर बाख्राको छाला रहेको पुष्टि भएको छ।

बरामद गरिएको कस्तुरी बिना विधि प्रयोगशालामा परीक्षण गर्दा कस्तुरीको बिना भनिएको बाहिरी भाग बाख्राको छाला र भित्र अगरबत्तिको धुपवाला सामग्री भेटिएको जिल्ला सरकारी वकिल कार्यालय दाङले जनाएको छ।

बरामद गरिएको कस्तुरीको बिना खरिदबिक्री नभएकाले सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेर महान्यायाधीवक्ता कार्यालयमा सिफारिस गरेको जिल्ला सरकारी कार्यालयका सह न्यायाधीवक्ता ढकबहादुर रावतले बताए।

मुद्दा नचल्ने भएपछि प्रहरीले कस्तुरीको बिना भनेर पक्राउ परेका व्यक्तिहरु करिब एक महिनाको हिरासत बसाइपछि छुटेका छन्। प्रहरीले राम्रोसँग अनुसन्धान नै नगरी व्यक्तिलाई नियन्त्रणमा लिएर सार्वजनिक गर्न हतार गर्नुले अनुसन्धान नै कमजोर रहेको यो घटनाले थप पुष्टि गरेको छ।

घोराही उपमहानगरपालिका–१५ सहिदगेटस्थित एक होटलमा कस्तुरीको बिना बिक्रीका लागि मोलमोलाई भइरहेको सूचना पाएपछि प्रहरीले गएको भदौ ७ गते साँझ ३१ ग्राम २ सय मिलिग्राम तौलको बिनासहित दुई जनालाई पक्राउ गरेको पत्रकार सम्मेलन गरेर उपलब्धिको रुपमा सार्वजनिक गरेको थियो।

जतिबेला घोराही–७ का ३३ वर्षीय मोहन बुढा र घोराही–१ का २२ वर्षीय मदन केसीलाई बिनासहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताएका थिए। प्रहरीले कस्तुरीको बिनासहित पक्राउ गरेको दाबी गर्दै थप अनुसन्धानका लागि उनीहरुलाई डिभिजन वन कार्यालयमा बुझाएको थियो।

प्रहरीले कस्तुरीको बिनासहित केही व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गर्नु र अनुसन्धानका क्रममा नक्कली भेटिएपछि यो बिषयले हंगामा भएको छ। प्रहरीको कमजोर अनुसन्धानले गर्दा अनाहकमा ती दुई नागरिकले केही समय हिरासतमा बसेर दुख पाए।

यस विषयमा बुझ्न एसपी काफ्लेलाई सम्पर्क गर्दा काफ्लेले कस्तुरीको बिना नै प्रहरीले पक्राउ गरेर वन कार्यालयलाई बुझाइएको र अरु थप अनुसन्धान गर्ने जिम्मा वन कार्यालयको भएकाले उक्त कार्यालयलाई धेरै कुरा थाहा हुने बताए। ‘मलाई केही पनि थाहा छैन,’ उनले भने।

प्रतिक्रिया