सिटौला समूह छाडेको स्पष्ट संकेत दिएका गगन थापा कसको प्यानलबाट महामन्त्री लड्दैछन्?


काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले पूर्वमहामन्त्री कृष्ण सिटौला समूह छाडेको स्पष्ट संकेत दिएका छन्। कांग्रेसको महानगर अधिवेशनका क्रममा सिटौला इतरको उम्मेदवारलाई सहयोग गरी थापा प्रकाशमान सिंहसँग उभिएका छन्।

सिटौला समूहका उम्मेदवार प्रगतिमान रञ्जितविरुद्ध उभिएका निलकाजी शाक्यलाई समर्थन गर्दै थापाले सिटौलालाई छाडेको स्पष्ट संकेत दिएका छन्। थापाको यो संकेतसँग महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका उनी कुन समूहबाट मैदानमा उत्रिदैछन् भन्ने लेखाजोखा सुरु भएको छ।

सभापतिमा दाबी गरिरहेका प्रकाशमान सिंहसँग महानगरमा उभिएका थापा उनकै प्यानलमा महामन्त्री बन्न लागेका हुन् त?

थापानिकट स्रोतका अनुसार महानगरमा सभापति शेरबहादुर देउवाविरुद्ध उभिए पनि उनी सिंहको प्यानलमा हुने छैनन्। थापा कोइराला परिवारका उम्मेदवारसँगै मैदानमा हुने बताइएको छ।

डा. शेखर कोइरालासँग थापाको निकटता अहिले बढेको छ। डा. कोइरालाले १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् र उक्त प्यानलको महामन्त्रीका एक उम्मेदवार थापा हुने लगभग तय भएको बताइएको छ।

यद्यपि देउवाइतर समूहको नेतृत्व गरिरहेका रामचन्द्र पौडेलले अहिलेसम्म स्पष्ट रुपमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छैनन्। तर कतिपयले देउवालाई टक्कर दिन सक्ने क्षमता पौडेलमा रहेका कारण सभापतिको मैदानमा उनै हुनेछन्। पौडेलले पनि दुई महामन्त्री मध्ये थापालाई प्यानलमा राख्न सक्ने अनुमान गरिएको छ।

उता देउवा प्यानलबाट महामन्त्रीका एउटा उम्मेदवार प्रवक्ता विश्वप्रकाश शर्मा हुने करिब करिब निश्चित भएको छ।

प्रतिक्रिया