इथियोपियाद्वारा राष्ट्रसंघका सात कर्मचारी देश निकाला


काठमाडाैं – इथियोपियाले आफ्नो देशमा कार्यरत संयुक्त राष्ट्रसङ्घका सात जना उच्च अधिकारीलाई देश निकाला गरेको छ । इथियोपियाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा बिचौलिया बन्न खोजेको आरोपसहित उनीहरुलाई देश निकाला गरिएको बीबीसीले जनाएको छ ।

इथियोपिया सरकारले विज्ञप्तिमार्फत ७२ घण्टाभित्र आफ्नो देश छाड्न उनीहरुलाई आदेश दिएको छ । इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रमा मानवीय सङ्कट रहेको विषयमा राष्ट्रसङ्घका अधिकारीहरुले बारम्बार आवाज उठाइरहेका थिए ।

राष्ट्रसङ्घका अधिकारीहरुले आफ्नो देशको आन्तरिक मामिलामा चाहिने भन्दा धेरै प्रचारबाजी गरेको तथा केही गम्भीर विषयमा समेत हस्तक्षेप गर्न खोजेको इथियोपियाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आफ्नो उच्च अधिकारीहरु इथियोपियाबाट निष्काशनमा परेपछि राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भने अचम्मित भएको प्रतिक्रिया दिएका छन् । गएको वर्षको नोभेम्बरदेखि टिग्रे क्षेत्रमा सरकारी सेना र टिग्रे पिपुल्स लिबरेशन फ्रन्टबीच चर्किएको लडाइँका कारण त्यस क्षेत्रमा मानवीय सङ्कट देखिएको छ । लडाइँमा परी हजारौँ मानिस मारिएका छन् भने कयौँ विस्थापित हुन पुगेका छन् ।

प्रतिक्रिया