लोसपाले माग्यो मुख्यमन्त्रीको राजीनामा, जसपा मौन


काठमाडौं – प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतमाथि गम्भीर आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमै पुगेर छापा मारेपछि नैतिक प्रश्न खडा भएको भन्दै राजीनामा माग भएको छ।

विपक्षी दलले मुख्यमन्त्रीकै कार्यालयमा अख्तियारले छापा मारेपछि नैतिकताका आधारमा पनि मुख्यमन्त्री राउत पदमा बसिरहन नमिल्ने तर्क गर्दै प्रदेशको इज्जत जोगाउनका लागि पनि राजीनामा दिनपर्ने दबाब दिएको छ।

प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य परमेश्वर साहले अख्तियारको कदमलाई स्वागतयोग्य भनेका छन्। मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने साहको भनाइ छ।

उनले पटक पटक ‘बेटी बचाउ बेटी पढाउ’ अभियान अन्र्तगत साइकल खरिदमा अनियमितताबारे आवाज उठाउँदा समेत सुनुवाइ नभएको अवस्थामा अख्तियारले छापा मारेर राम्रो काम गरेका बताए।

एउटा योजनामा मात्रै नभई स्वच्छता अभियानलगायत दर्जनौँ योजनामा भ्रष्टाचार भएको तथ्यलाई महालेखापरीक्षकको प्रतिवेदनले समेत प्रमाणित गरिसकेको अवस्थामा ती सबैमा अख्तियारले छानबिन गर्नुपर्ने उनको भनाइ छ।

यस्तै, विपक्षी नेकपा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेकोले छानबिन हुनुपर्ने माग गरेका छन्। यद्यपि राउतको दल जसपा नेपालले भने यसबारे केही प्रतिक्रिया दिएको छैन।

अख्तियारले साइकल खरिद र वितरणको फाइलका लागि पटकपटक ताकेता गर्दा पनि नबुझाएपछि गत बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको थियो।

प्रतिक्रिया