भूकम्पपछिको पुनर्निर्माणमा नेपाल-भारत दुवै पक्ष सन्तुष्टि


काठमाडौं – भूकम्कपछि भारतीय सहयोगमा नेपालमा पुनर्निर्माण भएका परियोजनाहरुको प्रगतिलाई नेपाल–भारत संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को बैठकमा दुवै पक्षले सन्तुष्टि जनाएका छन् ।

नेपालमा २०७२ सालमा भूकम्पपछि भारतको सहयोगमा निर्मित पुननिर्माण परियोजनाको प्रगतिको सम्बन्धमा बिहीबार काठमाडौंमा बैठक भएको थियो । मेरियट होटलमा भएको उक्त संयुक्त बैठकमा नेपालको तर्फबाट राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारी र भारतीय पक्षबाट विदेश मन्त्रालयका नेपालसहित उत्तरी महाशाखा हेर्ने सहसचिव अनुराग श्रीवास्तवले आ–आफ्नो टोलीको नेतृत्व गरेका थिए ।

बैठकले भारतको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको बृहत समिक्षा गरेको नेपाल र भारतीय दुवै पक्षले जनाएको छ ।

उक्त बैठकपछि भारतीय पक्षले विज्ञप्ती निकाल्दै आवासको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोट जिल्लामा सफलतापूर्वक ५० हजार निजी घरको पुनर्निर्माण भएकोमा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेको जनाएको छ ।

बैठकमा दुवै पक्षले शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्यको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियोजनाहरुमा भएको प्रगतिको सराहना गरेका छन् । उक्त समितिको बैठक दुवै मुलुकको सहमतिमा मिति तय गरेर अर्को पटक बस्ने सहमति भएको छ । बैठकमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवं निकायका प्रतिनिधि र भारत सरकारका अधिकारी, परामर्शदाता तथा परियोजनाको कार्यान्वयनमा संलग्न सरोकारवालाहरुको उपस्थिति थियो ।

नेपालमा २०७२ सालमा भूकम्प गएपछि भारतले नेपालका भूकम्प प्रभावित जिल्लाहरुमा घर, विद्यालय र स्वास्थ्य भवन तथा सांस्कृतिक सम्पदा निर्माणमा सहयोग गरेको छ ।

 

 

प्रतिक्रिया