

प्रस्ताव फिर्ता लिएर ओली–प्रचण्ड ‘रिभर्स सहमति’को अभ्यासमा!

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठकमा अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेका प्रस्ताव फिर्ता लिएर ब्याक हुने तयारीमा जुटेका छन्।
दुवैबीच पार्टीका गतिविधि र सरकार सञ्चालनमा भएका त्रुटीका विषयमा संयुक्त ‘आत्मआलोचना’सहितको प्रस्ताव ल्याउने अभ्यास चलिरहेको बताइन्छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको परामर्श तथा प्रचण्डले ओली पक्षका भनिएका महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेट गरेपछि यस्तो सहमतिको विन्दुमा उभिन सकिने रायबारे छलफल गरेका छन्।
‘केपी ओलीले कहिँ न कहिँ आत्मआलोचना गर्नुपर्छ। त्यसपछि पार्टी काममा भएका त्रुटी र कमजोरीका विषयमा आत्मआलोचना गरी संयुक्त प्रस्तावका आधारमा सचिवालय हुँदै स्थायी समिति बैठक बस्न सकिन्छ’, उच्च स्रोतले भन्यो,‘तर पार्टीका कमिटी र जिम्मेवारीसहितका विषयबाट ओलीले भाग्न पाउँदैनन्, समय दिनुपर्छ।’
यहि रायलाई समाधानको उपाय बनाउनका निम्ति पौडेल र नेम्वाङ सक्रिय भएका छन्। त्यसका लागि नेम्वाङले प्रधानमन्त्री ओलीलाई भेट गरी परामर्श गर्नेछन् भने प्रचण्डसँग फेरि भेट गर्नेछन्। पौडेलले विहीबारै ओलीसँग भेट गरिसकेका छन्।
‘दुनियाँ, विपक्षी र जग हसाउने काम भएका छन्। यी विषयमा पार्टी कमिटीमा दुवै अध्यक्षले आत्म आलोचनासहित माफी माग्ने र अगाडि कसरी बढ्ने भन्ने सन्दर्भमा एउटा सहमतिको विन्दु खोजिन्छ’, उच्च स्रोतले भन्यो,‘भोली १ बजे बस्ने सचिवालय अघि नै त्यस्तो सहमति खोजिनेछ। यदि सहमतिका लागि समय लाग्ने वा प्रस्ताव तयार पार्न समय लाग्ने भए बैठक सार्न सकिने विषयमा पनि परामर्श हुनेछ।’

