प्रदेश २ का मुख्यमन्त्री राउतको विश्वासको मत लिने तयारी, असोज २० मा प्रदेशसभा बस्ने


जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने भएका छन्। बुधबार बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले असोज २० गते प्रदेशसभा अधिवेशन आह्वान गरेको छ । सोही दिन मुख्यमन्त्री राउतले विश्वासको मत समेत लिने निर्णय गरिएको अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।

नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने हुन्छ। उपधारा २ बमोजिम पेस भएको प्रस्ताव प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित हुन नसकेमा मुख्यमन्त्री पदबाट मुक्त हुनेछ।

सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएको ३० दिनभन्दा बढी भइसकेको अवस्था रहेको छ। अहिले प्रदेश २ मा जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकारको छ

सरकारको विपक्षमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा एमाले रहने छन्। लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले आफ्नो पार्टीले प्रमुख प्रतिपक्षी भूमिका निर्वाह गर्ने बताएका छन्।

१०४ सदस्यीय प्रदेशसभामा जसपाका ३९, कांग्रेसका १९‚ एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ जना गरी जम्मा ८० जना सांसदले मुख्यमन्त्री राउतलाई समर्थन गरेका छन्।

प्रतिक्रिया