प्रधानमन्त्री देउवाका ‘दूत’ तीन पटक बालकोट पुग्नुको अर्थ


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधार गर्दै सरकारलाई सक्रियताका साथ चलाउने प्रयत्नमा लागेका छन्। यसैकारण संवाद र सहकार्यको वातावरण बनाउन सन्देश बोकाएर आफ्ना दूत कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई देउवाले तीन पटक ओलीनिवास बालकोट पठाइसकेका छन्।

सरकार गठन भएको अढाई महिना बितेको छ तर सदनमा एमालेको अवरोध कायमै रहेका कारण त्यसलाई समाधान गर्नेलगायतका अन्य एजेन्डाका सन्देश कार्कीले ओलीलाई सुनाएका छन्। खासगरी अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का सन्दर्भमा देउवाको सन्देश लिएर कार्की बालकोट पुगिरहेको बताइएको छ।

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनासाथ त्यसको ब्रिफिङ समेत गर्नका लागि कार्कीलाई देउवाले बालकोट पठाएका हुन्। संवादको उचित वातावरण बनेको खण्डमा प्रधानमन्त्री देउवा आफैं पनि ओलीनिवासमा पुग्ने बताइएको छ।

‘रचनात्मक सहयोगको अपेक्षासहित प्रधानमन्त्रीको सन्देश लिएर कानुनमन्त्री आउनुभएको छ, प्रधानमन्त्री देउवा पनि भेट्न र संवाद गर्न चहाने उहाँको सन्देश छ’, बालकोट स्रोतले भन्यो,‘अध्यादेश फिर्ताका सम्बन्धमा पनि कुराकानी भएको छ।’

कानुनमन्त्री कार्की तेस्रो पटक मंगलबार विहान बालकोट पुगेका थिए।

प्रतिक्रिया