यमन झडपमा ६७ जनाको मृत्यु
मारिब – यमनमा भएको झडपमा परी ६७ जनाको मृत्यु भएको छ । देशको मुख्य सहर मानिने मारिबमा उनीहरू मारिएको स्रोतले सोमबार जानकारी दिएको छ । इरानको समर्थन रहेको हुथी विद्रोहीहरूलाई साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको थियो ।
यही महिना मात्रै अरू पनि दर्जनौं लडाकुहरू मारिएको स्रोतले जनाएको छ । मारिबमा लगातार झडप हुन थालेपछि हजारौँ स्थानीय बासिन्दा विस्थापित भएका छन् । प्रान्तभरि रहेका शरणार्थी शिविरहरूमा २० लाखभन्दा बढी शरणार्थी छन् ।
‘पछिल्लो २४ घण्टामा मारिब र शाब्वामा भएका हवाई आक्रमण तथा झडपमा परी हुथी विद्रोही र यमनी उदारवादी पक्षका गरी ६७ जनाको मृत्यु भएको छ’, सैन्य स्रोतले भन्यो । अस्पताल स्रोतले पनि ६७ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
विद्रोहीहरूले भने कहिले–कहिले मात्रै आफ्नो तर्फको क्षति स्वीकार्ने गरेका छन् । सैन्य स्रोतले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले २० हवाई आक्रमण गरेको थियो ।