

अमेरिका पुगेर परराष्ट्रमन्त्री खड्काले भने– एमसीसी संशोधन हुँदैन

काठमाडौं– राष्ट्र संघीय महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संशोधन नहुने बताएका छन्।
सत्तारुढ पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले संशोधन गरी पास गर्न सकिने बताइरहेका बेला परराष्ट्रमन्त्री खड्काले भने,‘यो संशोधन हुँदैन। धेरै देशमा लागू भएको विषय हो। नेपालले संशोधन गर्दा प्रभावित हुन सक्छ।’
एनआरएन न्युर्योक च्याप्टर, जनसम्पर्क समिति अमेरिका, न्युर्योक महावाणिज्यदूत कार्यालयको संयुक्त आयोजनामा भएको भेटघाट कार्यक्रममा खड्काले यसो भनेका हुन्। सरकारको नेतृत्व गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एमसीसी जस्ताको तस्तै पारित गर्नुपर्ने बताएको तर सरकारबाट अलग हुनासाथ संशोधनको कुरा निकाल्नु राजनीतिक खेलमात्र रहेको खड्काको जिकिर थियो।
खड्काले एमसिसी नेपालको आवश्यकता भएको सवै राजनीतिक दललाई जानकारी भएको दाबी गरेका छन्। उनले दोहोरो चरित्रले विसुद्ध अनुदान प्रभावित बनाउन लागिएको बताउँदै जोडे,‘न त सेना नेपाल भित्रिन्छ न त राष्ट्रियता कमजोर हुन्छ। एमसिसी विकास हो।’

