ओलीका ‘डिफ्याक्टो’, उनकै प्रतिस्पर्धी!

विधान महाधिवेशनले उमेरहद पारित गरे अध्यक्षको मैदानमा भीम रावल पनि उत्रिनेछन्


काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेका बखत भारतीय उच्च पदस्थहरूको नेपाल भ्रमणका क्रममा उपप्रधानमन्त्री रहेका महासचिव ईश्वर पोखरेललाई प्रधानमन्त्री कार्यालयमा सारे। एमालेका कतिपय कार्यकर्ताले पोखरेललाई ‘डिफ्याक्टो’ प्रधानमन्त्री भनी संज्ञा दिए।

हुन पनि सरकारमा शक्तिशाली रहेका कारण पोखरेललाई उक्त संज्ञा दिए पनि ओलीले विस्तारै उनलाई शक्तिहिन बनाइरहेका थिए। सरकार विस्तारका क्रममा तत्कालिन जसपाका नेतालाई सामेल गराउने क्रममा पोखरेललाई उपप्रधानमन्त्री पदबाट पनि हटाइयो। तर अर्थमन्त्री रहेका विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरी वास्तविक ‘डिफ्याक्टो’ कायम गरेको ओलीको संकेत थियो।

उता माधवकुमार नेपालहरू पार्टी विभाजनको तयारीमा रहेको विवाद र वैमनश्यता रहीरहेका बेला पोखरेललाई एमाले र त्यसमा पनि ओली समूहमा शक्तिहिन बनाउन सुरु गरिएको थियो। यसैबेलादेखि पोखरेलले एमालेभित्र शक्ति संचयका आन्तरिक अभ्यास थालिसकेका थिए।

विष्णु पौडेललाई अगाडि बढाउने र खास उत्तराधिकारीका रुपमा ‘क्लियर पिक्चर’ बनेका पोखरेललाई कमजोर बनाउने रणनीति ओलीले अख्तियारी गरे। यसको संकेत सरकारबाट जिम्मेवारी खोस्नु मात्र थिएन।

पार्टी विभाजनअघि नै एमालेका विविध केन्द्रीय कमिटी बैठकले विभागका जिम्मेवारी तोकिए। कम्युनिस्ट पार्टीमा महासचिव स्वतः संगठन विभाग प्रमुख हुन्छ। तर पोखरेलको उक्त जिम्मेवारी खोसेर पौडेललाई नै जिम्मेवारी दिइयो।

यो निर्णयले भने ओलीले पोखरेललाई पूरापूर पाखा लगाउँदै उत्तराधिकारीका रुपमा पौडेललाई नै अगाडि बढाउँदैछन् भन्ने पक्कापक्की जस्तो भयो। ‘दुई पटक महासचिवमा निर्वाचित भएको व्यक्ति, अप्ठेरो समयमा ओलीलाई सहयोग गरेको नेतालाई पाखा लगाउने रणनीति छर्लङ्ग भयो’, उच्च स्रोतले भन्यो,‘यसको विकल्प केही त खोजी हुने भैहाल्यो नि।’

यति मात्र होइन पोखरेललाई एमाले नेतृत्वमा आउने महत्वकांक्षाबाट ‘बाइकट’ गर्नका लागि ओलीले हटिसकेको उमेरहदको प्रस्ताव गरेका छन्। जुन विधान सम्मेलनमा प्रस्तावित हुँदैछ १५ असोजमा। यसले त पोखरेलको अध्यक्ष बन्ने सपनामा पूरै तुसारापात गर्छ, पारित भएको खण्डमा।

‘यो विषय पनि पारित भएको खण्डमा दशौं महाधिवेशनमा अध्यक्ष पदमा लड्नुको विकल्प नै भएन’, उच्च स्रोतले भन्यो,‘७० बर्षको उमेरहद पार्टी एकीकरणका बेला हटेको थियो, एकाएक यो प्रस्तावित हुनुको अर्थ नै आफूपछिको नेता तय गर्नु हो।’

नेकपा हुँदा स्कुल विभागको जिम्मा पाएका पोखरेल पार्टी विभाजन भई पूर्ववत अवस्थामा फर्किएपछि एमाले महासचिवमा फर्किए। तर, ओलीले उनको महासचिव पदको ट्याग राखे पनि संगठन विभाग प्रमुखको जिम्मेवारी मात्र खोसेनन्, उनलाई उपप्रधानमन्त्री पदबाट पनि हटाएका थिए। त्यसैबेलादेखि एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीअनुसार पोखरेल अगाडि बढेका छन्। ओली खेमाभित्रै उनले अलगधारको संरचना विकास गर्न थालेका छन्।

विधान सम्मेलनले तयार पार्ने प्रस्तावका आधारमा नै पोखरेल अघि बढ्ने तयारीमा छन्। उमेरहद पारित भए उनी फेरि एक पटक अध्यक्ष पदमा टिक्ने ओलीविरुद्ध नै १० औं महाधिवेशनमा मैदानमा हुनेछन्।

उमेर हदले पोखरेललाई मात्र होइन, पार्टी विभाजनका बेला आश्वासन दिइएका उपाध्यक्ष भीम रावलको अध्यक्ष बन्ने धोकोमा पनि धक्का पुग्नेछ। उनलाई ओलीपछिको नेता भनी त कर्णबहादुर थापाले नै भनेका थिए। तर, सुदूरपश्चिम इञ्चार्जको जिम्मेवारी पनि नदिइएका कारण अहिले रुष्ट रावललाई उमेर हदको प्रस्तावले पनि धक्का दिएको छ।

उक्त प्रस्ताव पारित भएको खण्डमा मंसिरका लागि तय गरिएको महाधिवेशनमा अध्यक्षको मैदानमा रावल पनि खडा हुने तयारीमा छन्। उच्च स्रोतले भन्यो,‘ओलीको वैकल्पिक नेतृत्वका रुपमा रावललाई कन्भिन्स गरिएको थियो तर यदि त्यसो नभए मैदानमा उत्रिनुको विकल्प हुनेछैन।’

प्रतिक्रिया