विष्णु पौडेललाई उत्तराधिकारी बनाउन ओलीले एमालेमा गरेको एउटा प्रस्ताव
काठमाडौं– १५ देखि १७ असोजसम्म नेकपा एमालेले ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्न लागेको छ। पहिलो पटक हुन लागेको विधान महाधिवेशनको तयारीअनुसार भइरहेको केन्द्रीय कमिटीको बैठकमा चर्चाको विषय बनेको छ कार्यकारी पदको प्रमुख रहने उमेर हदको प्रस्ताव।
७० बर्ष पुगेपछि कार्यकारी पदमा बस्न नपाइने एमालेको नयाँ प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले उत्तराधिकारी तयार पार्नका लागि लिएको रणनीतिका रुपमा पनि बुझिन्छ। यसै पनि ओलीको उत्तराधिकारीका रुपमा उपमहासचिव विष्णु पौडेल र सचिव शंकर पोखरेल देखिएका छन्।
ओलीभन्दा फरक मत राख्ने उपमहासचिव घनश्याम भुसाल पनि यो दौडमा हुनेछन् तर उनको सम्भावना पौडेल र पोखरेलको हकमा कम देखिन्छ।
विधान मस्यौदाको धारा ८३ मा ७० वर्ष उमेर पुरा नभएको नेता मात्रै कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन पाउने उल्लेख छ। यो मस्यौदा विधान महाधिवेशनले पारित गरेको खण्डमा अहिले रहेका उपाध्यक्षदेखि महासचिवसम्मले ११ औं महाधिवेशनबाट नेतृत्वका लागि मैदानमा उत्रिन पाउने छैनन्।
१० औं महाधिवेशनबाट पार्टीको अध्यक्ष निर्वाचित हुने तयारीमा ओली आफैं छन्।
एमालेले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट पास गरेर विधान सम्मेलनमा पेस गर्दैछ। पौडेल विधान संशोधन गर्न बनेको कार्यदलका संयोजक हुन्।
७० वर्षको उमेर हद लागू भए मंसिरमा हुने दसौँ महाधिवेशनमा उम्मेदवारी दिन अध्यक्ष केपी ओलीलाई रोक्दैन किनकी उनी फागुनमा मात्र ७० लाग्नेछन्।
उमेरहद लागू भए नवौँ महाधिवेशनबाट उपाध्यक्ष बनेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, ईश्वर पोखरेल र भीम रावलको ११ औँ महाधिवशेनमा कार्यकारी पदमा रहनेछैनन्।
नेम्वाङ २००९, शाक्य २०१०, पोखरेल २०१०मा जन्मिएका हुन्। ११ औं महाधिवेशनमा यीनिहरू ७० नाघिसक्छन्। उपाध्यक्ष रावल पनि ७१ पुग्नेछन्।
पौडेल ५ मंसिर २०१६ मा जन्मिएका हुन्। उनी ११ औं महाधिवेशनमा ६८ मात्र हुनेछन्। २६ भदौ २०१८ मा जन्मिएका भुसाल ६५ पुग्नेछन्। २०१९ मा जन्मिएका शंकर पोखरेल र प्रदीप ज्ञवालीका लागि पनि मैदान उपयुक्त हुनेछ।
ओलीले आफ्नो खास उत्तराधिकारीका रुपमा उपमहासचिव पौडेललाई अघि सारेको स्पष्ट देखिन्छ। उनले संगठन विभाग प्रमुखको जिम्मेवारी दिएर महासचिवको कार्यभार दिएको प्रतीत हुन्छ। ईश्वर पोखरेल संगठन विभाग प्रमुख हुने थिए, स्कुल विभागको जिम्मा ओली आफैंले राखेका छन्।
‘रणनीतिक रुपमा नै एमाले कसलाई जिम्मा लगाउने भन्ने विषय अहिलेदेखि तय भएको देखिन्छ’, स्रोतले भन्यो,‘मैदानमा अरु भए पनि संगठनमा बलियोचाहिँ संगठन विभाग प्रमुख नै हुन्छन्।’
११ औं महाधिवेशनमा पौडेललाई महासचिव बनाउने तयारी पनि रहेको छ। यस्तै नेतृत्वको दौडमा रहेका शंकर पोखरेल पनि ओलीका विश्वासपात्र हुन्।