काँग्रेस नगर अधिवेशनः पाल्पाका नौ स्थानीय तहको सकियो निर्वाचन
रामपुर – नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पाल्पा जिल्लाका दश स्थानीय तहमध्ये नौ स्थानीय तहको निर्वाचन सकिएको छ ।जिल्लाका सात वटा पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ भने दुई पालिकामा निर्वाचन निर्वाचन भएको छ । एक पालिकामा निर्वाचन स्थगित भएको छ ।
रामपुर नगर कार्यसमितिको सभापतिमा पुनस् नेत्रप्रसाद भट्टराई निर्वाचित भएका छन् । मतदान प्रक्रियाबाट भएको निर्वाचनमा कुल २१२ मतमध्ये खसेको २०८ मतमा भट्टराईले १२५ मत ल्याई विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी अर्जुनप्रसाद रेग्मीले ८२ मत प्राप्त गरेका छन् । नगर उपसभापतिमा देवबहादुर थापा मश्राङी र ज्ञानप्रसाद भण्डारी निर्वाचित भएका छन् ।
मश्राङीले १४५ मत, भण्डारीले १३० मत प्राप्त गरेका छन् । उपसभापति पदका प्रतिस्पर्धी सरस्वती डोटेलले ६९ र हरिप्रसाद न्यौपानेले ५२ मत प्राप्त गरेको मतदान अधिकृत मुकुन्दराज गौतमले जानकारी दिए । सचिवमा चिरञ्जीवी सिग्देलले १४१ र ओमप्रकाश बस्यालले १२६ मत ल्याई निर्वाचित भएका छन् । प्रतिस्पर्धी विष्णुप्रसाद बस्यालले ८४ र नरनारायण अर्यालले ४० मत प्राप्त गरेका छन् ।
सहसचिवमा आवास भट्टराई र राजन सुनार चयन भएका छन् । भट्टराईले ९६, सुनारले ९१ मत प्राप्त गरी विजयी बनेका छन् भने प्रतिस्पर्धी देवबहादुर दर्जीले ७५, रहिम मुल्ला मियाँले ३७ र पार्वती परियारले ८४ मत प्राप्त गरेका छन्। नगर कार्य समितिको अन्य सदस्य पदमा भने निर्विरोध चयन भएको छ । रिब्दीकोट गाउँपालिकामा मतदान प्रक्रियाबाट निर्वाचन सम्पन्न भएको छ ।
सभापति पदमा रामचन्द्र पाण्डेले ९७ मतसहित विजयी भएका छन् भने प्रतिस्पर्धी इन्द्र पाण्डेले जम्मा ७ मत प्राप्त गरेका छन्। बगनासकाली गाउँपालिकामा ठानेश्वर तिमिल्सेना, निस्दी गाउँपालिकाको पूर्णबहादुर खाँण, पूर्वखोला गाउँपालिकाका विष्णु आचार्य, रम्भामा ऋषिराम अर्याल, माथागढीमा दीपक थापा, तिनाउँमा प्रेम पाण्डे, र रैनादेवी छहरा गाउँपालिकामा विष्णु पोखरेल निर्विरोध सभापति पदमा चुनिएका छन् । जिल्ला सदरमुकामको तानसेन नगरपालिकामा भने नगर अधिवेशन स्थगित गरिएको छ ।
तानसेन नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसक्दा अधिवेशन अनिश्चित बनेको हो । बुधबारसम्ममा नेतृत्व चयन प्रक्रिया अगाडि बढ्न सक्ने स्रोतको दाबी छ । दुई जना आकाङ्क्षीले आफ्नो दाबी नछाड्ने भएपछि सर्वसम्मतिको उम्मेदवारको खोजी गरिन लागेको बुझिएको छ । शनिबार भएको अधिवेशन सौहार्दपूर्ण वातावरणमा सबै पालिकामा सम्पन्न भएको छ । काँग्रेसको १४औँ महाधिवेशनमा नयाँ निर्वाचित भएका पदाधिकारीमा युवा पुस्ताको वर्चस्व छ ।