जनआन्दोलन मोर्चाको प्रश्न- श्रीपेचको रक्षा गर्न नसक्ने सरकारले जनताको सुरक्षा कसरी गर्छ ?


काठमाडौं – संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले २०७२ सालमा जारी भएको संविधानको खारेजीसँगै सैवैधानिक राजसंस्था कायम गर्न यही असोज ११ गते काठमाडौं बृहत्त विरोध सभाको आयोजना गर्ने घोषणा गरेको छ । उक्त सभामा सहभागी हुन पनि मोर्चाले आम नागरिकलाई आह्वान गरेको छ । मोर्चाले शनिबार रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममार्फत विरोधसभाको घोषणा गरेको हो ।

०७२ को संविधानले नेपालको अखण्डता, राष्ट्रियता, धार्मिक स्वतन्त्रतालाई हनन गरिरहेको र संविधान विदेशीको ईशारामा ल्याइएको भन्दै उक्त संविधानलाई खारेज गरि संवैधानिक राजसंस्था देशमा अपरिहार्य रहेको बताउँदै मोर्चाले आन्दोलनको आह्वान गरेको छ । संविधानमा उल्लेख गरिएका संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको नाममा सरकारमा बसेका दलले मुलुकलाई विदेशीको हातमा पुर्याइसकेको पनि मोर्चाको गम्भीर आरोप छ ।

संविधान खारेजीसँगै संवैधानिक राजसंस्थाले मात्रै मुलुकलाई निकाश दिने मोर्चाको ठम्याई छ । त्यस्तै, एमसीसी परियोजना राष्ट्रको हितविपरित रहेको भन्दै यसलाई पनि कार्यान्वयनमा ल्याउन नहुनेबारे  मोर्चाले सचेत गराएको छ ।

उक्त कार्यक्रममा जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलले ०६२–६३ को आन्दोलन र संविधानसभा आफूले हेरेको सुनाए । राजाले आफ्नो गद्दी छाडेर जनताको संविधानलाई स्वागत गरेको स्मरण गराए । तर, विदेशीले ल्याइदिएको संविधान नेपाली जनताको लागि घाँडो भएको स्पष्ट पारे । उनले भने, संविधानलाई उत्कृष्ट संविधान घोषित गरियो । तर, के यो नेपाली जनताको लागि बनेको हो त ? जनताका लागि के छ र संविधानमा यसलाई कहिले कार्यान्वयन गर्ने ?’

नेपाल स्वच्छ नभएको र राष्ट्रपति पनि पार्टीकै व्यक्ति हुनु देशको लागि दुःखद् अवस्था रहेको उनको भनाई छ । उनले भने,‘श्रीपेचको सुरक्षा गर्न नसक्ने सरकारले जनताको सुरक्षा कसरी गर्छ ? राज्यले कुमारीलाई सुरक्षा दिनसकेको छैन । राजा नआइ देश जोगिन्न । बेलायतमा समेत यस्तो अवस्था आएको थियो ।’

त्यस्तै कार्यक्रममा बरिष्ठ अधिवक्ता विष्णु भट्टराईले विश्वमा हिन्दू धर्मको एकमात्र देश नेपाललाई ईसाइकरण गर्न खोजिएको भन्दै सरकार पक्षमाथि आरोप लगाए । स्वीस बैँकमा नेपालीको अरबौँको भ्रष्टाचारको पर्दाफास भएसकेको उनले सुनाए । उनले भने,‘प्रधानन्याधीश संवैधानिक इजलासमा बस्नुहुँदैन भन्छन् । तर, यहाँ बस्दो रहेछ । नेपालमा प्रधानमन्त्री परमादेशले नियुक्त हुन्छ । बुद्व भूमिमा १७ हजार मानिस मार्ने व्यक्तिले नेपाल चलाईरहेको छ ।’

त्यसैगरि कार्यक्रममा संयुक्त जनआन्दोलन मोर्चाका संयोजक हरिबोल भट्टले आज मुलुक दुरावस्थामा पुग्नुमा व्याप्त भ्रष्टाचारको हात रहेको बताए । उनले भने,‘विदेशीको हातमा देश छ । यो संविधान नेपाली बनाएको हैन । जबरजस्ती कलम चलाउन लगाए विदेशीहरुले लेख्न लगाएको संविधान हो ।’ राजा र प्रजा दुवै एकात्मक प्रणालीबाट देशको निर्माण पृथ्वीनारायण शाहले गरेको सुनाए  । तपोमूमि नेपालमा २००७ सालमा प्रजातन्त्र आएको थियो त्यसलाई राजाले समेत साथ दिएका उनले सुनाए । राजाले सम्पूर्ण देशबासीको आकांक्षालाई सम्मान गरेको सुनाए । देश जोगाउन राजाले माओवादीहरुलाई जोगाएको उनले बताए । राजाले सदैव जनताको साथ दिने गरेको सुनाए । राजा कहिले पनि निरंकुश नभएको उनको भनाई छ ।

कार्यक्रममासंयुक्त जनआन्दोलन मोर्चाका वरिष्ठ उपाध्यक्ष श्रीराम कँडेल, मोर्चाका सल्लाहकार विक्रम बम, वरिष्ठ उपाध्यक्ष दिनेश कँडेल, राष्ट्रिय संयोजक शिवराम थापा,  राष्ट्रिय संयोजक शेखर रायमाझीलगायतले बोलेका थिए ।

प्रतिक्रिया