

बालबालिकालक्षित ‘सनसाइन चिल्ड्रेन क्याम्प’को तयारी

ललितपुर – ललितपुरमा सनसाइन चिल्ड्रेन क्याम्प–२०२१ सञ्चालन हुने भएको छ । लामो समयदेखि कोरोना महामारीका कारण घरभित्रै थुनिएर बस्न बाध्य बालबालिकाको चौतर्फी विकास र अतिरिक्त क्रियाकलापमा संलग्न गराई उनीहरूको व्यक्तित्व विकासको मुख्य उद्देश्यसहित उक्त क्याम्प सञ्चालन गर्न लागिएको हो ।
क्याम्पको तयारीस्वरूप बारेमा जानकारी दिनका लागि विभिन्न चरणमा अभिभावक र बालबालिकाहरुको उपस्थितिमा अभिमुखीकरण कार्यक्रमहरू गरिँदै आएको छ । सोही क्रममा पहिलो अभिमुखीकरण ललितपुरस्थित लरेन्स पार्क मन्टेश्वरीमा आयोजना १५ अभिभावकको उपस्थितिमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सहभागी भएका अभिभावकहरुले क्याम्प चौतर्फी विकासका लागि फलदायी हुने विश्वास लिएको बताए ।
त्यस्तै क्याम्पकै तयारीका क्रममा दोस्रो अभिमुखीकरण ललितपुरको कुमारीपाटीस्थित नेपालकै पहिलो थ्रिडी आर्ट रेष्टुरेन्ट वनडे थ्रिडी आर्ट रेष्टुरेन्टमा बिहीबार सम्पन्न भयो । उक्त अभिमुखीकरणमा २० अभिभावकहरु आफ्ना बालबालिकासहित सहभागी भएका थिए । उनीहरूले रेष्टुरेन्टको भ्रमण गर्दै थ्रीडी आर्टबारे जानकारी लिएका थिए ।
उक्त अभिमुखीकरण कार्यक्रममा सहभागीहरुलाई रेष्टुरेन्टका सञ्चालक एवं व्यवस्थापक शेखर आचार्यले स्वागत गर्दै थ्रीडी आर्टको महत्व र उपादेयताबारे जानकारी दिएका थिए ।
उक्त अवसरमा किड्स गार्डेन मन्टेश्वरीकी सञ्चालिका मुना दाहालले क्याम्पका बारे विस्तृत जानकारी गराएकी थिइन् भने वान डे थ्रिडी आर्ट म्युजियमकी व्यवस्थापक एवं सनसाइन चिल्ड्रेन क्याम्प–२०२१ की संयोजक मन्नु विष्टले क्याम्पको उद्देश्यका साथै क्याम्प सञ्चालनबारे प्रकाश पारेकी थिइन् ।
विभिन्न पेशा र कामलाई प्रतिनिधित्व गर्ने २० अभिभावक सहभागी भएको उक्त अभिमुखीकरण कार्यक्रममा लरेन्स पार्क मन्टेश्वरी इमाडोलकी सञ्चालिका उषा बुढाथोकी र लामो समयदेखि शिक्षण सेवामा आबद्ध जेनी श्रेष्ठले क्याम्पको आवश्यकता र महत्वबारे प्रकाश पारेका थिए ।
क्याम्पमा बालबालिकाको व्यक्तित्व विकास, मोडलिङ, व्यावसायिक फोटोसुटका साथै आर्ट कक्षाहरुको व्यवस्था गरिने जनाइएको छ । साथै क्याम्पमा बालबालिकाहरुको जिम्न्यास्टिक, नृत्यलगायत अन्य अतिरिक्त क्रियाकलापहरु गराइने पनि जानकारी दिइएको थियो । मिल्टन सोलुसन्स र ह्वाइट मिडियाको संयुक्त प्रस्तुतिमा सञ्चालनमा ल्याउन लागिएको क्याम्प ३० घन्टाको हुने जनाइएको छ ।

