कतार पुलिसको अन्तर्वार्ता लिने ३ म्यानपावर ६ महिनाका लागि निलम्बन


काठमाडौं – गैरकानूनी रुपमा अन्तर्वार्ता लिएको भन्दै वैदेशिक रोजगार विभागले तीन कम्पनीलाई कारबाही गरेको छ । गत सोमबार र मंगलबार कतार पुलिसका लागि मागको पूर्वस्वीकृति नलिइकन अन्तर्वार्ता लिएको सूचनाका आधारमा विभागले तीनवटा म्यानपावर कम्पनीमा छापा मारेको थियो ।

विनास्वीकृति गोप्य रूपमा अन्तर्वार्ता लिएको भन्दै लाजिम्पाटमा रहेको होप इन्टरनेसनल प्रालि, धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालि र गौरीघाटमा रहेको डिडी ह्युमन रिसोर्स प्रालि लाई विभागले ६ महिना निलम्बन गरिएको जनाइएको छ । विभागका सूचना अधिकारी टीकामणि नेउपानेका अनुसार, तीनवटा कम्पनीलाई पहिलो कारबाहीस्वरूप सबै कारोबार रोक्का गरी निलम्बन गरिएको हो । उनका अनुसार, गोप्य अन्तर्वार्ता सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश भएपछि ऐनमा व्यवस्था भएअनुसार थप कारबाही हुनेछ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ मा वैदेशिक रोजगारीमा कामदार पठाउन म्यानपावर कम्पनीले पूर्वश्रम स्वीकृति र सम्बन्धित निकायलाई जानकारी नगराई अन्तर्वार्ता गरे ६ महिनासम्म कामकारबाही रोक्का र ऐनअनुसार आर्थिक जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार छानबिन प्रतिवेदन सार्वजनिक नहुँदासम्मका लागि ६ महिना निलम्बन गरिएको विभागले जनाएको छ । ऐनमा कारबाहीस्वरुप तीनदेखि पाँच लाखसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैदको समेत व्यवस्था रहेको छ ।

वैदेशिक रोजगार व्यवसायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तीन कम्पनीले गैरकानुनी काम गर्दा सम्पूर्ण व्यवसायीले लज्जा महसुस गरेको भन्दै साधारण सदस्यताबाट हटाएको छ । केही दिनअघि बसेको बैठकले उक्त कम्पनीलाई साधारण सदस्यसमेत नरहने गरी खारेज गर्ने निर्णय भएको संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए । संघले निर्णय गरेपछि कम्पनीलाई पत्र पठाउन बाँकी रहेको जनाइएको छ । रासस

प्रतिक्रिया