मायोर्काविरुद्ध रियलको शानदार जीत, असेन्सियोले गरे ह्याट्रिक


एजेन्सी – रियल म्याड्रिड पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति भएको खेलमा ६–१ को विशाल अन्तरले मायोर्कालाई हराउँदै रियल शीर्ष स्थानमा उक्लिएको हो।

आफ्नो घरेलु मैदानमा मार्को असेन्सियोको ह्याट्रिकको मद्दतले मायोर्कालाई हराउँदै रियल ६–१ को विशाल अन्तरले विजयी बनेको हो। खेलको तेस्रो मिनेटमा करिम बेन्जेमाको गोलको मद्दतले अग्रता लिएको थियो।

त्यस्तै खेलको २४ औँ मिनेटमा असेन्सियोले रियलको अग्रता दोब्बर पारे। तर, लगत्तै मायोर्काका लि काङले एक गोल फर्काए। त्यसको चार मिनेट पछि असेन्सियोले रियललाई पुनः दुई गोलको अग्रता दिलाए।

दोस्रो हाफको सुरुवातमा नै असेन्सियोले गोल गर्दै ह्याट्रिक हाने। त्यसपछि बेन्जेमा र इस्कोले एक÷एक गोल थप्दै रियलको आधा दर्जन गोल पुरा गरे। बेन्जेमाले यो सिजन ८ गोल गर्नुका साथै ७ वटा गोलको अवसर सिर्जना गरिसकेका छन्।

यस्तै मंगलबार गेटाफेलाई हराउँदै एथ्लेटिको म्याड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको थियो। आजको जीतपछि रियलले आफ्नो चीर प्रतिद्वन्द्वीलाई उछिनेको छ। ६ खेलपछि रियलको १६ अंक रहेको छ भने एथ्लेटिकोको १४ अंक रहेको छ।

प्रतिक्रिया