

विजय गच्छादार भन्छन्– व्यक्तिगत लाभ लिएको छैन, माधव नेपालको निर्देशन मानेको हुँ

काठमाडौं– बालुवाटारस्थित ललिता निवास प्रकरणमा नेपाली कांग्रेसका उपसभापति तथा तत्कालिन भौतिकमन्त्री बिजयकुमार गच्छादारले पत्रकार सम्मेलन गरी स्पष्टिकरण दिएका छन्।
बुधबार तीनकुनेस्थित सिद्धार्थ कटेजमा पत्रकार सम्मेलन गर्दै उनले तहगत हिसाबमा आएको फाइल मन्त्रिपरिषदमा लग्ने काम मात्र आफूले गरेको तर त्यो तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन रहेको गच्छादारको दाबी थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संरचनालाई असन्तुलित गरी राजनीतिक पूर्वाग्रह राखेर आफूलाई मात्र डाम्ने षडयन्त्र कम्युनिस्ट सरकारले गरेको उनको भनाई थियो।
‘मन्त्रिपरिषदबाट सर्वसम्मत रुपमा निर्णय भएको कुरामा म विभागीय मन्त्रीलाई मात्र तानियो’, उनले भने,‘अख्तियारले पूर्वाग्रहपूर्ण ढंगले मुद्दा चलाउने काम गरेको हो।’
उनले व्यक्तिगत रुपमा आफूले कुनै लाभ लिने काम नगरेको र सरकारको गुरुयोजना मन्त्रिपरिषदमा पेश गर्नु भ्रष्टाचारजन्य काम नभएको पनि दाबी गरेका छन्।

