
चीनबाट ल्याइएको ४४ लाख डोज भेरोसेल खोप सोमवारबाट वितरण गर्ने, क-कस्ले पाउँछ खाेप ?
काठमाडौँ – चीनबाट खरिद गरेर शुक्रवार नेपाल आइपुगेको ४४ लाख मात्रा भेरो सेल खोप आगामी असोज ४ गते सोमबार देखि १४ गतेसम्म वितरण गरिने भएको छ ।
दुई मात्रा लगाउनुपर्ने उक्त खोप २२ लाख जनालाई दिन पुग्ने अधिकारीहरूले बताएका छन्। चीनबाट ल्याइएको उक्त खोप एकै खेपमा नेपालमा भित्रिएको खोपको सबैभन्दा ठूलो परिमाण हो।
नेपालमा सम्म ६० लाख ५७ हजारले पहिलो मात्रा र ५४ लाख ७३ हजार नेपालीले पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
कतिपय प्रदेशहरूले टोली पठाएकाले त्यहाँबाट सोझै विभिन्न प्रदेशहरूमा खोप पठाइने उनले उल्लेख गरे।
खोप अभियान सञ्चालन गर्ने जिम्मेवारी पाएको परिवार कल्याण महाशाखा अन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार अहिले आएको खोप अर्को साताबाट वितरण गर्न थालिनेछ।
दाहाल भन्छन्, ‘हामी असोज ४ गते देखि १४ गतेसम्म पहिलो चरणको अभियान चलाउँछौँ। यसैको दोस्रो मात्रा कार्तिक ४ गते देखि १४ गतेसम्म हामी दिनेछौँ।’
उनले खोप वितरणको योजना पहिल्यै नै तयार पारिएको र जिल्लाहरूलाई अग्रिम रूपमा खोप वितरणको तयारी गर्न निर्देशन दिइएको जानकारी दिए।
खोप वितरणमा विगतका अभियानमा छुटेको समूह, उमेर र पेसा अनुसार प्राथमिकता क्रममा राखिएका समूहलाई खोप दिइने अधिकारीहरूले बताएका छन्।
त्यस्तै १० वटा हिमाली जिल्लामा १८ वर्षभन्दा माथिको उमेर समूहका सबै नेपाली नागरिकलाई खोप वितरण गरिने अधिकारीहरूले बताएका छन्।



कागजपत्र |
