

कक्षा १२ को परिक्षा आजदेखि सुरु हुँदै, प्रश्नपत्र अनलाइनमार्फत परिक्षा केन्द्रमा पुर्याइँदै

काठमाडौं — कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले अधिकांश विद्यार्थीहरुले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका कारण र संक्रमण दर पनि घटदै गएकोले भौतिकरुपमै परिक्षा सुरु गर्न लागेको बताएको छ ।
बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षाका लागि आवश्यक सबै तयारी पूरा भएको बताएका छन् ।
यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरिएकोमा बोर्डले अन्तिम समयमा आएर स्थगित गरेको थियो । परीक्षा असोज ८ गतेसम्म चल्ने छ ।
परिक्षामा ३ लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ ।
परीक्षामा विद्यार्थीलाई होम सेन्टर (विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा दिने) को व्यवस्था मिलाइएको छ । परीक्षा बोर्डका अध्यक्ष पौडेलका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएका विद्यार्थीहरूलाई पछि छुट्टै व्यवस्था गरिएको छ ।
विद्यार्थीले आफू संक्रमित भएको प्रमाणसहित परीक्षामा सामेल हुन नपाएको जानकारी गराउने विद्यार्थीलाई पछि पनि परीक्षा दिन पाउने व्यवस्था गरिने उनले बताए ।
परीक्षाका लागि तयार पारिएका प्रश्नपत्र बुधवार बिहान साढे १० बजेसम्ममा अनलाइन माध्यमबाट हरेक परीक्षा केन्द्रमा पुर्याइने परीक्षा बोर्डका अध्यक्ष डा. पौडेलले बताए ।

