

प्रतिनिधसभाबाट विनियोजन विधेयक पारित, अर्को बैठक असोज ४ गते

काठमाडौं – प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेश गरेको विनियोजन विधेयक २०७८ बहुमतले पारित गर्दै अर्को बैठक असोज ४ गतेका लागि बोलाइएको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोध र नाराबाजीकै बीच सुरु भएको आजको बैठकमा ‘विनियोजन विधेयक २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेपछि बैठक ४ असोजसम्मका लागि स्थगित भएको हो।
आज पनि बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले वेल घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए।
सभामुखले त्यसबारे कुनै सुनुवाई नगरी बैठक अघि बढाएका हुन्। विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद प्रेम सुवालले मात्रै लिए। संशोधनसहितको बजेट पास हुनै बाँकी छ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमाले सांसदहरुले निरन्तर संसदमा अवरोध गर्दै आइरहेका छन्।
एमालेले भदौ २३ गतेदेखि निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ। एमालेले माधव नेपालसहित १४ सांसद पदमुक्त भएको सूचना टाँस गर्नुपर्ने या सूचना टाँस नगरे सभामुख सापकोटाले राजीनामा दिनुपर्ने भएको अडान कायमै राखेको छ।
यस्तै बैठकले दुई वटा शोक प्रस्ताव समेत पारित गरेको छ।
प्रतिनिधि सभाको अर्को बैठक असोज ४ गते सोमबार विहान ११ बजे बस्ने छ।

