अफगानिस्तानमा मानवीय सङ्कट आउन लागेको भन्दै संयुक्त राष्ट्रसंघद्वारा सहयोग आह्वान


जेनेभा – अफगानिस्तानमा ठुलो मानवीय सङ्कट आउन लागेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले यसका लागि विश्व समुदाय गम्भीर हुनुपर्ने पनि बताएको छ ।

यहाँको आर्थिक अवस्था ध्वस्त भएको र ठुलो मानवीय सङ्कट आउन लागेको भन्दै त्यहाँ आवश्यक सहयोग उपलब्ध गराउन भनिएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराएको बताइएको छ । हिजो ९सोमवार० जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसले सहयोगको आह्वान गरेका छन् ।

गत महिना सशस्त्र विद्रोहमार्फत अफगानिस्तानको सत्ता तालिबानीहरुले हातमा लिएका थिए । त्यसयता वैदेशिक सहायता पनि ठप्प भएको छ ।अफगानिस्तानका नागरिकहरूलाई तत्कालै खाना, औषधि, स्वास्थ्य सेवा तथा पछिल्लो समयमा सुरक्षित पिउने पानीको पनि समस्या रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

महासचिव गुटर्रेसले सो सम्मेलनमा करिब ६० करोड अमेरिकी डलरको तत्कालै आवश्यकता रहेको बताए। उनले यो सहयोग तत्कालै उपलब्ध भएमा अफगानिस्तानका दशौँ लाख मानिसलाई राहत पुग्ने पनि बताएका थिए। यहाँको पछिल्लो राजनीतिक परिवर्तनपछि नागरिकहरु निकै नै ठुलो जोखिममा परेका भन्दै उनले भने– हामीले यहाँ यो कुरा त्यसै भनेका छैनौँ कि अफगानिस्तानको अवस्था साँच्चिकै नराम्रो छ ।

अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्दै संयुक्त राष्ट्रसङ्घले तालिबानलाई सहयताकर्मीहरुलाई यहाँका विभिन्न स्थानमा उनीहरुले सहयोग गर्न पुगे भने उनीहरुलाई नरोक्न पनि आह्वान गरेको छ । तालिबान लडाकुहरूले अफगानिस्तानमा नियन्त्रण कायम गर्नुअघि नै द्वन्द्वका कारण साढे पाँच लाख मानिस आफ्नो वासस्थानबाट विस्थापित भएका थिए ।

हाल पनि अफगानिस्तानका लाखौँ नागरिक आन्तरिक रूपमा विस्थापित भएर देशभित्रै शरणार्थीको जस्तो अवस्थामा बाँच्न बाध्य भएको बताइएको छ । राससर सिन्ह्वा

प्रतिक्रिया