

यी १४ जना एकीकृत समाजवादीका सांसदको पद दुई न्यायाधीशको अधिनमा, के आउला आदेश?

काठमाडौं– नेकपा एमालेबाट विभाजित भई एकीकृत समाजवादी दल गठन गरेका १४ जनाविरूद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई सोमबार हुने भएको छ।
न्यायाधीश दीपक कार्की र मिरा खड्काको संयुक्त इजलासले माधवकुमार नेपालसहितका १४ जनालाई कारबाही गरेको भनी एमालेले दिएको रिटमा सुनुवाई गर्दैछ।
नेपालसहित मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणी चौधरी, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनलाई एमालेले कारबाही गरेको पत्र सभामुख अग्नी सापकोटालाई बुझाएको थियो।
तर सापकोटाले सूचना टाँस नगरेपछि निर्वाचन आयोगले १४ जनालाई नै सांसद मान्दै दल विभाजनलाई सदर गरेको थियो। यसविरुद्ध एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले हेरेको उक्त मुद्दामा सोमबारका लागि दुवै पक्षलाई छलफल गर्न सर्वोच्च अदालत डाकिएको छ। अन्तरिम आदेश दिनुपर्ने या नपर्ने भन्ने विषय टुंगो लाग्ने बताइएको छ।

