विदेशी पाहुनालाई ल्याएको सवारीमा भिआईपीको मस्ती, कमल थापाले नै छाडेनन् महँगा गाडी


काठमाडौं– नेपालमा हुने सार्क तथा विम्स्टेक सम्मेलनमा सहभागी हुने विदेशी पाहुनाका लागि झिकाइएका महँगा गाडी भीआईपी भनिनेहरूको कब्जामा रहेको छ।

भन्सार छुटसहित कुटनीतिक नियोग तथा सरकारी नम्बरप्लेट राखिने कम्तिमा ३ करोडसम्म पर्ने मर्सिडिजका १३ कार र अर्को चार करोड बढी पर्ने एउटा गाडी दुरुपयोग भएको छ।

बाहलवाला मन्त्रीदेखि केही भीआईपीले ति गाडी कुटनीतिक नम्बर प्लेट लगाएर चढ्दै आएका छन्। राप्रपा अध्यक्ष कमल थापा परराष्ट्रमन्त्री हुँदा मगाइएको महँगो खालको गाडी त कब्जा नै गरेर राखेका छन्। चार करोड मुल्य बढी पर्ने उक्त गाडी थापाले सरकारलाई अहिलेसम्म बुझाएका छैनन्।

उच्च स्रोतले भन्यो,‘त्यसबेला मगाइएको १४ वटा गाडीको अहिले बेहाल छ। पूर्व उपप्रधानमन्त्री कमल थापाले त सबैभन्दा महँगो गाडी चढिरहेका छन्।’

त्यसबेला कतार सरकारसँग १४ वटा गाडी सहायता स्वरुपमा मगाइएको थियो। नेपालस्थित कतारको कुटनीतिक नियोगले उक्त गाडीहरू दुई लट गरेर दिएको थियो। एउटा लटमा ९ र अर्कोमा ५ गरी १४ गाडी नेपाल भित्राइएको थियो।

त्यसबेला मर्सिडिजको ‘इ थ्री हन्द्रेड’ १३ र ‘जीएलए टु हन्द्रेड डी’ एउटा गाडी सरकारमा रहेका बेला थापाले झिकाएका थिए। थापा अहिले जीएलए टु हन्द्रेड डी मोडलको महँगो गाडी चढिरहेका छन् जुन राज्यलाई फिर्ता गर्नुपर्ने हो।

‘मन्त्रीका लागि पनि यस्ता गाडी ल्याइएका हुँदैनन्। कुनै सभा र सम्मेलन हुँदा अन्तर्राष्ट्रिय पाहुना, विदेशी सरकार तथा राष्ट्र प्रमुख, मन्त्रीको सवारीका लागि सरकारले तयार अवस्थामा राख्नुपर्ने हो’, स्रोतले भन्यो,‘अहिले यी सबै सवारीलाई कवाडीका तालमा चलाइएका छन्। सत्तामा रहेका र बाहिर रहेकाले गाडीको हरिबिजोग बनाए।’

नेपालमा सार्क तथा विम्स्टेक सम्मेलनका बेला सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुख काठमाडौं आएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि गाडी नहुँदा भारतबाट नै झिकाइएको थियो।

प्रतिक्रिया