अधिकार माग्ने महिलालाई तालिबानको बन्दुक, विश्वविद्यालय पढ्नेलाई बुर्का


काबुल – अफगानिस्तानमा नव गठित तालिबान सरकार महिलाविरोधी देखिएको छ । उसो त उसको यसअघिको शासन पनि महिलाविरोधी र क्रुर नै रहेको भुक्तभोगी बताउँछन् । तर तालिबानले यस पटक आफू बदलिएको र महिलालाई पनि ‘शरिया कानुनअनुसार’ स्वतन्त्रता र अधिकार दिने आश्वासन दिएको थियो ।

२० वर्षपछि तालिबानले गत अगस्ट १५ मा दोस्रो पटक अफगानिस्तानको सत्ता कब्जा गरेको हो । गत मंगलबार उसले आफ्नो अन्तरिम सरकारसमेत घोषणा गरिसकेको छ । तर सरकारमा एक जना पनि महिला सदस्य छैनन् । सरकार गठनअघि नै महिलाले आफूहरूले पनि पुरुष बराबर अधिकार पाउनु पर्ने माग राखेर अफगानिस्तानको राजधानी काबुललगायत विभिन्न सहरमा विरोध प्रदर्शन गरिरहेका छन् ।

त्यस क्रममा तालिबानले उनीहरूको माग सम्बोधन गर्नु त कता हो कता, बरु बल प्रयोग गरेर दमन गरिरहेको छ । तालिबानका लडाकुले प्रदर्शनकारी महिलालाई लछारपछार गर्ने तथा बन्दुकका कुन्दाले हानेका तस्बिर विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भइरहेका छन् ।

साथै यसबीच तालिबान सरकारका एक नेताले महिलाको काम बच्चा जन्माउने मात्र हो, मन्त्री बन्ने होइन भन्ने संकुचित धारणासमेत सार्वजनिक गरेका छन् ।

उता कलेज, विश्वविद्यालय पढ्ने महिलालाई पनि तालिबानले कडा नियम लगाएको छ । यसअन्तर्गत उसले शरिया कानुन भन्दै कलेज, विश्वविद्यालयमा महिला पुरुष एउटै कक्षाकोठामा बस्न नपाउने, एकअर्कालाई हेर्न, बोल्नसमेत नपाउने, महिला विद्यार्थीलाई महिला शिक्षकले मात्रै पढाउन पाउने तथा पढ्न जाँदा पूरै अनुहार तथा शरीरका सबै अंग छोपिने बुर्का, नकाब लगाउनुपर्ने प्रतिबन्ध लगाएको हो । एजेन्सी

प्रतिक्रिया