सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौँ- सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक आज (आइतबार) बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाको अनुसार बैठक बिहान १० बजे बालुवाटारमा बस्ने छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, सत्ता सञ्चालन तथा अमेरिकी सहयोग मिलियन च्यालेन्ज कर्पोरेसन्स (एमसीसी) परियोजनालगायत विषयमा छलफल गर्ने सचिव देउवाले बताए ।

बैठकमा संसदमा सत्तापक्षको रणनीतिका विषयमा पनि छलफल हुने उनको भनाइ छ । गत शुक्रबार बसेको संसद बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै संसद अवरोध गरेका थिए । अवरोधका बीच सरकारले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक लगायत विभिन्न विधेयक पेस गरीएको थियो ।

साथै सरकार बनेको दुई महिना पुरा हुनलाग्दा सम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री देउवाले चार मन्त्री र एक राज्यमन्त्रीका भारमा सरकार सञ्चालन गरिरहेको अवस्था छ ।

यसअघिको गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले दलका शीर्ष नेताहरुसँग पार्टीको तर्फबाट सरकारमा पठाउने मन्त्रीको नाम मागेका थिए । तर, दलहरुले नाम उपलब्ध गराउन सकेका छैनन् ।

शुक्रबार देउवाले नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दुई दुई मन्त्रीको भए पनि नाम दिन आग्रह गरेका थिए । गठबन्धनमा मन्त्रीको भागबण्डा नमिल्दा मन्त्रिपरिषद विस्तार अन्यौल बनेको छ ।

प्रतिक्रिया